कोरोना प्रभावित नेपाली ल्याउन शनिबार वाईडबडी विमान चीन उड्दै

काठमाडौँ– २९, माघ।कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो। शनिबार दिउँसो पौने ३ बजे जहाज काठमाडौंबाट वुहान जाने छ भने राती सवा २ बजे विमान अवतरण हुने निगमको अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनले बताएका छन् । विमानमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन्।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिम दिएका थिए। विमानस्थलमा कार्यरत कर्मचारीलाई बिहीबार तालिम दिँइदै छ।

उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन। यसबारे विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ। ‘बिहीबारको मन्त्रिपरिषद्ले यसबारेको मापदण्ड पारित गरेपछि मात्रै जहाज र कर्मचारीहरुको क्वारेन्टाइनबारे एकिन भन्‍न मिल्ने बताएको छ ।

निगमले सरकारले दिएको निर्देशन अनुसार, निगमको जहाज र कर्मचारीलाई वुहान पठाउन लागेको जनाएको छ।

यसैबीच वुहान जाने वाइडबडी जहाजको ग्राउन्ड ह्याण्डलिंङ गर्न परराष्ट्र मन्त्रालयले त्यहाँको ग्राउन्ड एक्सप्रेस लिमिटेडलाई तोकेको छ। उक्त कम्पनीले निगमको उक्त उडानमा नेपाल आउने विद्यार्थी लगायतको ब्यागेज जहाजमा राख्‍ने, जहाजलाई अन्य प्राविधिक लगायतका काममा मद्दत गर्ने छ। यस बापत निगमले उक्त कम्पनीलाई भुक्तानी दिनुपर्ने छ।

निगमले यसपटक गर्न लागेको यो चार्टर उडान हो। यसको भाडा निगमले प्रति घन्टा कम्तीमा १८ हजार हाराहारी डलरका दरमा लिनेछ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार २१:५०