
आफ्नै घरमा आगोमा जलेर सल्यानमा एक बालकको मृत्यु भएको छ। आगोमा जलेर जिल्लाको शिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षिय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो ।
मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकी घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिनुभयाे ।
मंगलबार दिउसो ३ बजे बालक बुढाथोकी खेल्न भनेर साथीहरु कहाँ गएतापनि राती घरमा जलेको अबस्थामा मृत भेटिएका हुन ।दिउसो ३ बजे छोरा घरबाट खेल्न भनेर साथीकहाँ गएको र बेलुका अबेर सम्म नआए पछि छोरा दुर्गा बहादुर साथी र आफन्तको घरमा बास बसेको हुन सक्ने भन्दै परिवारले खोजतलास गरेका थिएनन ।
घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अबस्था मृत भेटिएको प्रहरीले जनाएको छ । आगो कस्ले किन लगाएको भन्ने एकिन नभएता पनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैले आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरी अहिले घटनास्थलमा पुगेको र अनुसन्धान भईरहेको बताएको छ । मृतक बालकलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेका प्रहरी जनाएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार १०:३१