समयमा स्वास्थ्य सेवा नपाएको कैदीबन्दीको गुनासो

सल्यान । जिल्ला कारागारमा रहेकी मिना पाण्डेसहित पाँच जना कैदीबन्दीलाई फागुन १८ गते जिल्ला अस्पताल सल्यानमा उपचार तथा स्वास्थ्य परीक्षण गर्न लगियो ।दुई दिनदेखि पिसाब बन्द हुने समस्या भएकी मिनाले दोस्रो दिन मात्रै उपचार सेवा पाएको गुनासो गर्नु भएको हो ।२८ वर्षीया पाण्डेलाई दुई वर्ष अघि दुर्घटनामा परे यता पिसाब रोकिने समस्या भएको उहाँ बताउनुहुन्छ । नियमित औषधि सेवन गरी रहेकी उनलाई कारागारमा भनेकै समयमा स्वास्थ्य जाँच र उपचार गर्न नपाउँदा समस्या भएको छ ।

उहाँ जस्तै कारागारमा रहेका अन्य महिला पुरुषलाई पनि कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या भोग्नु परेको छ । ढाड दुख्ने समस्या भएकी २५ वर्षीया आशा विकले पनि स्वास्थ्य जाँच गराउन अस्पताल वा मेडिकल जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । ‘कारागारमा समस्या बताएपछि विभिन्न प्रकृया पुरा गर्नुपर्ने भएका कारण भनेकै समयमा औषधि उपचार गर्न अस्पताल जान पाइदैन, उहाँले भन्नुभयो, प्रकृया पुरा भएपछि भनेकै दिन नत्र दोस्रो दिनसम्म अस्पताल जान्छौं ।’ इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उहाँले कारागारमै स्वास्थ्यकर्मीको व्यवस्था हुन सके कैदीबन्दीलाई सहज हुने बताउनुभयो ।

यस्तै उच्च रक्तचापको समस्या भएकी आशा विकले पनि मासिक रुपमा स्वास्थ्य जाँच गराउनु पर्ने बताउनु भयो । उहाँ लगायत उच्च रक्तचापका बिरामीलाई कारागारले महिनामा एक पटक स्वास्थ्य जाँच गर्ने मेडिकल वा जिल्ला अस्पतालमा पु¥याउने गरेको छ ।

सात महिना अघिसम्म कारागार भित्रै हप्तामा एक पटक स्वास्थ्य जाँच गर्ने व्यवस्था थियो । कार्यालयमा कार्यरत डम्मर बिष्टको भदौ महिनामा सरुवा भएर गएदेखि यता समस्या भोग्नु परेको महिला कैदी बन्दीका नाइके जयन्ती हमालले बताउनुभयो । ‘रातिको समयमा आकस्मिक बिरामी हुँदा समेत हामीले तत्काल उपचार पाउने गरेका थियौं, उहाँले भन्नुभयो, अहिले भने उपचार गर्न कारागार बाहिर जानुपर्ने बाध्यता भएकाले समस्या भएको हो ।’

उहाँले अहिले पनि रातको समयमा यदि कोही बिरामी परेमा गाडी मगाएर उपचार गर्न लैजाने गरेको बताउँदै, कार्यालयले पनि प्रकृयागत ढङ्गले काम गर्नुपर्ने बाध्यता रहेकाले पनि कैदीबन्दीलाई समस्या हुने गरेको बताउनु भयो । उहाँले स्थानीय सरकार वा प्रदेश, संघीय सरकारले कारागारमा कैदी बन्दीका लागि दरबन्दी अनुसारको स्वास्थ्यर्मीको व्यवस्था गर्न पहल गरीदिन इन्सेकसँग अनुरोध गर्नुभयो ।

जिल्ला कारागार सल्यानका निमित्त कार्यालय प्रमुख केशवराज न्यौपानेले कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा समस्या भएको स्वीकार गर्नु भएको छ । कार्यालयले कुनैपनि कैदीबन्दीलाई बिरामी परेको बेला व्यवास्ता नगरेको बरु केही कागजी प्रकृया पु¥याउनुपर्ने भएका कारण कहिलेकाँही ढिलाई हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस अघि प्रत्येक हप्ताको मङ्गलवार सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण र सामान्य उपचार कारागार भित्रै हुन्थ्यो, तर अहिले भदौ महिना यता दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा हामीलाई पनि समस्या भएको छ ।’ उहाँले फागुन १८ गते मात्रै पाँच जना कैदीबन्दीलाई जिल्ला अस्पताल सल्यानमा स्वास्थ्यजाँच तथा उपचारका लागि लगिएको बताउनुभयो ।

२५ जना क्षमता भएको जिल्ला कारागारमा हाल १ सय १६ जना रहेको उहाँले बताउनुभयो । ‘क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी भएका कारण पनि एकै पटक धेरैलाई स्वास्थ्य जाँचका लागि बाहिर लैजान सक्दैनौं, उहाँले भन्नुभयो त्यसैले कारागार भित्रै स्वास्थ्य सेवा दिन सकेमा सबैले सहजै सेवा पाउने थिए।’ कारागारमा ८९ जना पुरुष, १७ जना महिला र चार जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार २१:२४