
मिना बुढाथोकी,सल्यान ।
जिल्लाको एक विद्यालयका शिक्षकहरुले १४ महिनादेखि तलव पाएका छैनन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भैरवी निम्न माद्यामिक विद्यालय वेलखोलामा कार्यरत ५ जना शिक्षकहरुले १४ महिनादेखि तलव पाउन नसकेको विद्यालयका प्रधानाध्यापक खिमलाल विकले बताउनुभयाे । उनिहरु सवै निजि श्रोतका शिक्षक हुन् । विद्यालयमा आर्थिक श्रोत नहुँदा उनिहरु १४ महिनादेखि तलव पाउनबाट वञ्चित भएका हुन् । विद्यालयमा चरम आर्थिक अभाव पछि ८ कक्षा सम्म संचालित विद्यालयलाई ५ कक्षामा झार्ने तयारी गरिएको छ ।
एकै विद्यालयमा शिक्षकको तलव मात्रै ८ लाख वाँकी
विद्यालयले १४ महिनाको तलव बापत शिक्षकलाई दिनुपर्ने रकम मात्रै ८ लाख बढि छ । गएको वर्ष पनि नगरपालिकाबाट कुनै रकम नपाएपछि शिक्षकहरुलाई तलव दिन नसकिएको प्रअ विकले बताउनुभयाे । नगरपालिका अथवा शिक्षकको लागी कुनै निकायबाट सहयोग भयो भने कक्षा ८ सम्म संचालन गर्न सक्छौँ उहाँले भन्नुभयाे यदि कतैबाट पनि सहयोग प्राप्त भएन भने कक्षा ५ मा झार्नुको विकल्प छैन । विद्यालयमा १ स्थाई र १ राहत गरी २ वटा मात्रै दरवन्दि छन् । तलव नपाएपछि शिक्षक विद्यालय आउनै छाडेका छन् उहाँले भन्नुभयाे शिक्षकहरु अनियमित भएपछि विद्यार्थिहरुको पढाइ समेत प्रभावित भएको छ । १ सय ७० विद्यार्थि रहेको विद्यालयमा निमावि तहमा मात्रै ८५ विद्यार्थि अध्ययनरत छन् ।
आधा दर्जन विद्यालयले ८ सम्म संचालित विद्यालय ५ सम्म झार्दै
यस्तो समस्या वनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जन विद्यालयमा छ । शुन्य दरबन्दीमा विद्यालय संचालन भएको र आर्थिक अभावका कारण सामुदायिक विद्यालयहरुले शिक्षक अभाव भएपछि पठनपाठनमा समस्या हुँदा कक्षा घटाउने तयारी गरेका छन् । कक्षा ८ सञ्चालन गरेका विद्यालयहरु आउँदो शैक्षिक सत्रमा निमावि तह वन्द गर्ने र प्रावि तहमा लैजाने योजनामा छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ मा रहेको राधा निमावि यसै शैक्षिक सत्रमै प्राविमा झरीसकेको छ भने भैरवी निमावि बेलखोला, भेरी निमावि गरा, सरस्वती निमावि लाँखर लगाएतका कक्षा ८ चलेका आधा दर्जन विद्यालयहरुले आउँदो शैक्षिक सत्रमा विद्यालय प्राविमा झार्ने तयारीमा छन् । शिक्षक अभावका कारण विद्यालय वन्द हुने अवस्था आए पछि वालवालिका घण्टौँ हिडेर बिद्यालय जानुपर्ने बाध्यता हुने भन्दै अभिभावक चिन्तित बनेका छन् ।
नगरपालिका नै नगर शिक्षा समिति विहिन
वनगाड कुपिण्डे नगरपालिका २ वर्ष देखि नगर शिक्षा समिति विहिन छ । नगर शिक्षा समिति बन्न नसकेपछि अधिकांश कामहरु प्रभावित बनेका छन् । नगरपालिकाले गएको आर्थिक वर्षमा पनि नगर शिक्षा विकासको लागी छुट्याएको बजेट आवश्यक कानुनको अभावमा फ्रिज भएको थियो । यसवर्ष पनि अहिले सम्म बजेट विनियोजन हुन नसकेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले बताउनुभयाे । उहाँले नगर शिक्षा समिति नहुँदा आवश्यक काम गर्न नसकिएको स्वीकार गर्नुभयाे । हामीले अव आगामी शैक्षिक सत्रदेखि यि समस्या समाधानको लागी लागिरहेका छौँ उहाँले भन्नुभयाे अव चैतमा शिक्षा समिति बनाएर वैशाख देखि शुन्य दरवन्दी भएका विद्यालयमा दरवन्दी दिन्छौँ । उहाँले निमावि तहमा मात्रै १९ वटा दरवन्दी दिनेगरी बजेट विनियोजन गरेको बताउनुभयाे।
प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार १९:१०