आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ

सल्यान– आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ परेका छन् । सल्यानको शारदा नगरपालिका वडा न. १५ हरले बस्ने बर्ष २१ की मुना थापा नाथलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनका श्रीमान सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मुना गएको चैत्र ३ गते आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकि थिइन् ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ पर्नेहरुमा मुनाका श्रीमान बर्ष २३ का सुनिल नाथ, शारदा नगरपालिका वडा न. १५ बस्ने बर्ष २० का सुनिल भन्ने बिजय भण्डारी, सोहि ठाउँ निवासि  बर्ष २२ का लाल बहादुर राजगुरु र त्रिबेणी गाउँपालिका वडा न. ३ बस्ने बर्ष २३ का अर्जुन रावत रहेको जिल्ला प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारि गराएका छन् । मुनाको त्रिवेणी गाउँपालिका ३ बस्ने एक युवकसंग अनैतीक सम्बन्ध छ भन्ने आरोप लगाउदै विजय र लाल बहादुरले पोखरामा बस्दै आएका मुनाका श्रीमान सुनिललाई फोनमा जानकारि गराएका थिए ।
त्यस पछि मृतकको श्रीमान चैत्र २ गते राती १२ बजेको समयमा आफ्नो घरमा आई मुनाले गाउँमा संचालन गरेको किराना पसलमा समेत आगो लगाई श्रीमतीलाई हातपात तथा गाली गलौज गरी शारीरिक तथा मानसिक यातना दिएको तथा विजय, लाल बहादुर समेतले युवकसंग अनैतिक सम्बन्ध छ भनि आरोप लगाई गाउँघरमा मुनाकोे ईज्जत प्रतिष्ठामा समेत आँच र्पुयाउने गरी बेईज्जत गरी अपवाह फैलाएर आत्महत्या गर्ने सम्मको परिस्थित खडा गरेको भन्दै मृतक मुनाको बुवाले किटानी जाहेरी दिएको प्रहरी निरिक्षक ओलीले जानकारि गराए । घटनास्थल वरपरका साक्षीहरुबाट पनि आत्महत्या दुरुत्साहन गरेको भन्ने बुझिन आएकोले उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ बमोजिम आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शिर्षकमा मुद्दा दर्ता गरिएको उनले जनाए । सल्यान जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ७ को म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको ओलीले बताए ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार १९:५७