नक्कली पास बनाई यात्रु ओसारपसार गर्ने एम्बुलेन्स सहित चार जना पक्राउ

सल्यान– नक्कली बिरामी बोक्ने एम्बुलेन्स सहिच चार जनालाई सल्यान प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस रोक्न सरकारले गरेको लकडाउन उल्लंघन गरी ३ जना यात्रु ओसारपसार गर्ने एम्बुलेन्सलाई बागचौर नगरपालिकाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्य व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा पश्चिम रुकुम देखी दाङ तुलसीपुर तर्फ जाँदै गरेका लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली पास यात्रु ओसार पसार गरिरहेको भन्ने सुचनाको आधारमा मानव परोपकार तथा समाज केन्द्र दाङबाट सञ्चालित उक्त एम्बुलेन्सलाई बागचौर नगरपालिका ५ बंगेलााकुरी स्थित ईलाका प्रहरी कार्यालय सिमाखोली प्रहरी चेकप्वाईन्टमा रोकी चेकजाँच गर्ने क्रममा नक्कली पास सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय थारमारेमा राखेर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार १५:१८