कोरोना नियन्त्रण र रोकथामका लागी कर्णाली प्रदेश उच्च स्तरीय समितिले गर्यो यस्तो निर्णय

सल्यान । कोरोना नियन्त्रण, रोकथामका लागी कर्णाली प्रदेश उच्च स्तरीय समितिको बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैठकले कोरोना नियन्त्रण र रोकथामका लागी महत्वपुर्ण निर्णयहरु गरेको बताउनु भयो ।
उहाँका अनुसार कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने, भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने ,तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउने, भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बालि स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने , महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जन शक्ति आवत जावतको व्यवस्था गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै कर्णालीका सबै जिल्लामा चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री आयात गर्ने, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने, औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने ,नेपाल सरकार मन्त्री परिषदले गरेका निर्णयहरु कार्यान्वयन गर्ने लगायतका निर्णयहरु गरेको अर्थमन्त्री ज्वालाले बताउनुभयो ।साथै कर्णाली प्रदेश सरकारले आज भएका सबै निर्णय कार्यान्वायन गर्न गराउन सम्बन्धित सबैसंग अनुरोध गरेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार २२:२०