सोलखुम्बुको गाउँपालिकाले काठमाडौं पुगेर दियो आफ्ना नागरिकलाई राहत

काठमाडौँ, जेठ २ । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका ७ सय भन्दा बढी आफ्ना स्थानीय गाँउपालिका बासीहरुलाई राहत वितरण गरेको छ । बैशाख २८ गते मात्र ६ सय ५२ परिवारलाई राहत बाँढेको पालिकाले २९ गते सम्ममा ७ सय भन्दा बढीलाई राहत बाँढेको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठयारोमा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वको टोली सो राहत वितरण गर्न ठमाण्डौं उपत्यका आएका हुन् ।

टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल र १ लिटर तेल राहतको रुपमा वितरण गरिएको हो । आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका महाकुलुङवासीहरुले गाउँपालिकाको नेतृत्व,कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए ।

उपत्यकाका धुम्बाराही,कपन,गोकर्ण,नयाँबस्ती,,टोखा, जावलाखेल, किर्तिपुर,बाफल,कलङ्की, बुढानिलकन्ठ,जडीबुटी, चावाहिल तथा बानियाटार लगायतका विभन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी अति नै समस्यामा परेका ६४९ जनालाई उद्धार गरी पालिकाकै खर्चमा गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी राहत दिइएको हो ।

गाउँपालिकाको कोरोना भाईरस विपत कोष तथा जनप्रतिनिधि एवम कर्मचारीहरुको तलब भत्ताबाट जम्मा भएको रकमले राहत वितरण गरिएको हो । जनप्रतिनिधि हरुको एक महिना एक दिन,प्रशासन अधिकृतको १२ दिन,अधिकृत तह भन्दा मुनीको कर्मचारी तथा शिक्षकहरुको १० दिन र वडाका सबै अध्यक्ष तथा कर्मचारीहरुको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले बताए ।

राहत कोषमा वडा नं ३ का अध्यक्ष डेक बहादुर कुलुङले आफ्नै स्वईच्छाले सबैभन्दा बढी तीन महिनाको आफ्नो पारिश्रमिक जम्मा गरेका थिए । स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको हकमा कुनै पनि तलब नकटाउने नि र्णय गरेपनि महाकुलुङ स्वास्थ्य संयोजक हरि प्रसाद आर्चाय र अनमी उमा देवी राईले भने स्वघोषित रुपमा ७ दिनको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार २०:५३