लकडाउनले मध्यपहाडी लोकमार्गको काम अलपत्र

 प्रचण्ड खत्री

रुकुम पश्चिम् – मध्यपहाडी लोकमार्गको काम लकडाउनका कारण देखाउदै राेकिएकाे छ । लाेकमार्गमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाे थियाे ।

रुकुम पूर्वको भुमे पाथिहाल्नादेखि रुकुम पश्चिमको चौरजहारीसम्म कुल १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडकखण्डमा सात वटा उप-खण्ड कायम गरिएको छ। यसमध्ये दुईवटा उप-खण्ड अन्त्तर्गत ३२ किलोमिटर गएको वर्ष नै कालोपत्रे भैसकेको, तीनवटा उप-खण्डको ६७ किलोमिटरमा आउँदो असार समान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम थालिएको थियो । तर, कालोपत्रेको काम अन्तिम चरणमा पुगेका बेला कोरोना भाइरसको कारण भएको लामो लकडाउनले काम ठप्प भएकाे छ ।

सरकारले विशेष सावधानी अपनाएर निर्माणको कामलाई अघि बढाउन सकिने भनेर भनेपनि राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको रुकुम पूर्व-पश्चिम खण्डको निर्माणको काम भने रोकिएको छ । स्वास्थ्य सावधानी अपनाउँदै ठूला आयोजनाहरु सञ्चालन गर्न सरकारले भनेपनि लाेकमार्गकाे काम अलपत्र परेकाे हाे ।

लकडाउनका कारण घर गएका कामदार नफर्केको र अन्य प्राविधिक समस्याका कारण काम रोक्नुपरेको लोकमार्ग निर्माण जिम्मा लिएका कम्पनीहरुको भनाइ छ । निर्माण व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष समिरजंग मल्लले जिल्लामा दक्ष जनशक्ति नभएकोले व्यवसायीहरुलाई काम सञ्चालनमा समस्या आएको बताउनुभयो । उहाँले आवश्यक सामाग्रीहरु स्टक नहुँदा पनि काम नियमित गर्न नसकेको उल्लेख गर्नुभयो ।

मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय दैलेखले व्यक्तिगत सुरक्षालाई ध्यान दिएर काम गर्न सकिने बताएको छ । तर, मेसिनमार्फत गरिने कामसमेत चालक नहुँदा प्रभावित बनेको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालय दैलेखका सब-इन्जिनियर तेजेन्द्रकुमार चन्दले सामाजिक दूरी कायम गरेर मजदूरले भन्दा पनि मेसिनले काम गर्ने कुरालाई प्राथमिकता दिनु भनेर सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार १९:४५