कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

वीरेन्द्रनगर, जेठ १० । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थप ३ जनामा कोरोना संक्रमण फेला परेको हो ।

गत सोमबार दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो । शनिबार फेला परेका तिनै जना सुर्खेतका रहेका छन् । सुर्खेतमा फेला परेका कोरोना संक्रमित २ जना बराहताल गाउँपालिकाका १ जना चौकुने गाउँपालिका रहेका छन् । यी तिनै जना भारतबाट आएका हुन् ।

बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो ।
अहिलेसम्म चारै जनाको उपचार प्रदेश अस्पतालको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार १५:१९