वाँके दुर्घटनाः ३३ जनाकै पीसीआर रिपाेर्ट नेगेटिभ, मृतक ८ जनाकाे सनाखत

बाँके– बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’

दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । भारतका विभिन्न शहरमा काम गर्न गएका उनीहरु कोरोना संक्रमणको अवस्थामा नेपाल आएका थिए । नेपालगञ्ज जमुनाहा नाकाबाट नेपाल भित्राइएको उनीहरु गृह जिल्ला जान हिडेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा दैलेख जिल्ला साविकको बराहा गाविस वडा नम्वर ३ का गाडी चालक दानबहादुर खड्का, सुर्खेत जिल्ला लाटि कोइलीका गाडी सहचालक पवन भण्डारी उनका सहयाेगी रितेश कार्की र दाङ्ग राजपुर ६ का रामकुमार पुनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसएसपी वीर बहादुर वलीले जनाकारी दिनुभयाे।

त्यसैगरी यात्रुहरु रोल्पा थबाङका भीमबहादुर विक, बुद्धिराम विक, पूर्णबहादुर पुन, सीता पुन रहेको प्रदेश प्रहरीले जनाएको छ ।

त्यसैगरी ठेगाना नखुलकेका दिलबहादुर विक, नरेन्द्र बिक र  मोहनचन्द्र बिककाे मृत्यु भएको छ । दुर्घटना घाइते हुनेहरुमा दाङ्गका ६ जना, रोल्पाका ५ जना र सल्यानका १० जना छन । भातरबाट आएका ३३ (चालक र सहचालक सहित) यात्रु लिएर सल्यान तर्फ जादै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको बाँके प्रहरी प्रमुख एसएसपी वलीले बताउनुभयाे ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार १७:११