बारेकोटमा पहिरो पिडितद्वारा तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग

प्रचण्ड खत्री / रुकुम पश्चिम

पहिरो पिडित राहातको पर्खाईमा जाजरकाेट जिल्लाकाे बारेकोटमा पहिरोबाट पिडित विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन तर सरकारले पठाउन सकेको छैन । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकोप्टरमा केही राहत सामग्री लिएर आएपनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताउनु भयो ।

बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका आठ सय बढी परिवार विस्थापित भएका छन । तत्काल पाँच सय परिवारलाई त्रिपाल र कम्मलको आवश्यकता छ । केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ ।

गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । तर प्रदेश सरकार र संघिय सरकार गंभिर भएनन् । बारेकोटवासीलाई परेको विपत्तीमा अहिले सम्म सहयोग पाईएन उहाँले गुनासो गदै भन्नुभयाे,‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ ।

 बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५ देखि ६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।’ बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ । मन्त्रीहरु, साँसदहरु हेलिकोप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन तर हामीले अहिले सम्म एउटा त्रिपाल र कम्मल समेत पाउन सकेका छैनौ बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भन्नुभयाे, ‘न खाने खास छ न ओत लाग्ने ठाँउ छ ।

 बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । तसर्थ हेलिकोप्टरका माध्यामबाट ढुवानी त्रिपाल, कम्मल र खाद्यन्न पठाउनु पर्छ जिल्ला समन्वय समितिका उपससंयोजक ज्ञानीप्रसाद शर्माले भने ‘सरकारले समयमा ध्यान दिएन भने बारेकोटमा भोकमरी र अर्को महामारी निम्तन सक्छ ।’

पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन ।

तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले ‘हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकार सँग माग गरिनुभयाे ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १०:५८