माग अनुसारका सडक–पुल निर्माण गर्ने क्षमता सरकारसंग छैन –यातायातमन्त्री नेम्बाङ

काठमाडौं– ०४, साउन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले माग अनुसारको सडक पुल निर्माण गर्ने क्षमता सरकारसँग नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा निर्माण सम्पन्न हुन नसकेका सडक पुल सम्बन्धीको छलफलका क्रममा सरकारको क्षमता भन्दा बढी पुल निर्माणको माग रहेको बताएका हुन् ।

अहिले १ हजार ५ सय बढी पुल निर्माणको क्रममा रहेको र वार्षिक २ सय पुल मात्र निर्माण गर्ने क्षमता सरकारसंग भएका मन्त्री नेम्बाङले बताए । मन्त्रालयसँग जनशक्ति अभाव हुँदा पनि पुल निर्माण गर्ने क्षमता कम भएको उनको भनाई छ । उनले भने, ‘मन्त्रालयमा दरबन्दी भएपनि १३ जना पहिलो दर्जा र ४० जना दोस्रो दर्जाको कर्मचारी छन् । १ सय १६ जना इन्जिनियर, १ सय ५० जना सब इन्जिनियर रिक्त छ । जसले काम गर्ने क्षमतामा कमजोर भएका छौ ।’ मन्त्री नेम्बाङले भने ।

मन्त्रालयका सचिव देबेन्द्र कार्कीले माग अनुसारका पुल निर्माण गर्न मन्त्रालयसँग प्रर्याप्त बजेटसमेत नभएको उल्लेख गरेका छन् । मन्त्रालय तथा विभाग अन्तर्गत एक इन्जिनियरले ५०/६० पुलको सुपरभिजन गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । जसले गुणस्तरीय पुल निर्माणमा पनि समस्या देखिएको उनी बताउँछन् ।

समितिको बैठकमा सांसदहरुले पुराना र जिर्ण पुलहरुको निर्माण गर्दा कार्यतालिका निर्माण गरी काम गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आईतवार १९:३३