खिर खाँदा ६४ जना बिरामी

पाल्पा- पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी आफन्तहरुले प्रसादको रुपमा खिर खाँदा ६४ जना बिरामी परेका हुन् ।

खिर खाएर बिरामी भएकामध्ये १० जना रामपुर अस्पतालमा र ५४ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको लुम्बिनी मेडिकल कलेजमा उपचाररत् बिरामीहरुले बताएका छन् । खानेकुरामा म्याद गुज्रेका र विषादीयुक्त खाना खाँदा यस्तो समस्या भएको उपचारमा संलग्न डा. उदीप महर्जनले जानकारी दिए ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १८:२८