कभर खबर

  • २० श्रावण २०७७, मंगलवार १९:४८

कर्णालीमा लक्षणसहितका संक्रमित देखिए २५ दिन लकडाउन गरिने

सुर्खेत, २० साउन। लक्षणसहितका कोरोना संक्रमित देखिए कर्णाली प्रदेश २५ दिनका लागि लकडाउन हुने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा लक्षणसहितका कोरोना भाइरस संक्रमित देखिए कम्तीमा २५ दिन लकडाउन गर्ने बताएका छन् ।

मुख्यमन्त्री शाहीले देशमा लक्षणसहितको कोरोनाको संक्रमण हुदै गएको भन्दै कर्णालीलाई सुरक्षित राख्न २५ दिनदेखि एक महिना कडा लकडाउन गर्न सकिने बताएका हुन् ।

देशका अन्य प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित बढ्दै गएमा कर्णालीले फेरि पनि नाका सिल गर्ने उनले बताए । कर्णाली प्रवेश गर्ने नाकामा नै पीसीआर मेसिन राखेर कोरोना परीक्षण गरेपछि मात्रै प्रदेशमा प्रवेश पाइने अवस्था पनि आउन सक्ने शाहीको भनाई छ ।

मुख्यमन्त्री शाहीले सकेसम्म प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने बताएका छन् ।
अहिले कर्णालीमा पिसीआर परीक्षण गर्ने प्रयोगशालाको कमी नभएको भन्दै शाहीले बरु किटको अभाव हुनसक्ने जनाएका छन ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहीले विपद व्यवस्थापनका लागि प्रदेशभित्रका सबै पालिकाका वडाहरुमा उद्धार समिति बनाई परिचालन गर्न लागिएको शाहीले बताएका छन् । टिम गठनका लागि पालिकाहरुलाई सर्कुलर गरिसकेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार १९:४८