कभर खबर

  • २९ श्रावण २०७७, बिहीबार १०:३८

बाँके कारागारमा कोरोना देखिएपछी ४७ जनालाई बर्दिया र दैलेख सारियो

बाँके– कोरोना भाइरसको संक्रमण देखिएपछि बाँके कारागारका ४७ कैदीबन्दीलाई बर्दिया र दैलेख सारिएको छ । केही दिन अघि कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको थियो । क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले संक्रमण फैलिन नदिन स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दीलाई दैलेख र बर्दिया जिल्ला कारागारमा पठाएको हो । कारागार प्रशासनका अनुसार ३० जना महिला र एक नाबालकलाई दैलेख स्थानान्तरण गरिएको हो ।

त्यस्तै, १५ महिला र एक नाबालकलाई बर्दिया सारिएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले बताए । अहिले बाँके कारागारमा सात सय ७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक रहेका छन् । यो कारागारमा दुई सय ५० पुरुष र ५० महिला राख्ने क्षमता रहेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहीबार १०:३८