सञ्चारकर्मीहरुको निःशुल्क पिसिआर परीक्षणको ब्यवस्था मिलाउन महासंघको माग

काठमाण्डौँ– नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चारकर्मीहरुलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका र विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेको महासंघले जनाएको छ ।

साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ ।

 

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार १३:०६