आफ्नै सालाको अपहरण गरी फिरौती माग गर्ने भिनाजु पक्राउ

नेपालगन्ज- बाँकेमा आफ्नै सालाको अपहरण गरी फिरौती माग गर्ने भिनाजु पक्राउ परेका छन् । जिल्लाको खजुरा गाउँपालिका वडा नम्वर ५ स्थित रजनवा गाउँका १३ बर्षिय इसहाक जाकिर भन्ने ईन्तजार खाँलाई अपहरण गरी १० लाख रुपैयाँ फिरौती माग गरेका उनका आफ्नै भिनाजु नेपालगन्ज उपमहानगरपालिका १६ का २७ बर्षिय कल्लु भन्ने कालिम खाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ ९ गते राती साढे आठ बजेतिर मोहर्रमको रमाईलो हेर्न गएका पीडित नाबालकलाई उनका भिनाजु कालिम खाँ ले जयसपुरस्थित आफ्नो कोठामा बन्धक बनाई फिरौती रकम माग गर्दै पीडितको परिवारमा फोन गरेका थिए । जग्गा खरिद गर्ने तयारीमा रहेका ससुरासँग नगद पैसा भएको थाहा पाएपछि कालिमले नाबालक सालालाई अपहरण गरी १० लाख फिरौती मागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम बहादुर रानाले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अपहरणकारी भिनाजुले घटनाको सूचना पाए लगत्तै खटिएको प्रहरीले खोजतलास गरिरहेको भन्ने थाहा पाएपछि अपहरित बालकलाई बिहिबार जानकी गाउँपालिका ५ स्थित पीडितको फुपुको घरमा छाडेका थिए । प्रहरीले त्यहीवाट बालकलाई उद्धार गरी घटनामा संलग्न बालकका भिनाजु कलिम खाँ लाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका खाँ को साथबाट भे.४ प. २३४४ नम्वरको सुजुकी मोटरसाईकल र फिरौती माग गर्न प्रयोग गरिएको मोवाईल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको बताउँदै प्रहरी उपरिक्षक रानाले अपराध पुष्टि भए मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरको दफा २१३ बमोजिम ७ बर्ष देखि १० बर्ष सम्म कैद र ७० हजार देखि १ लाखसम्म जरिवाना हुने जानकारी दिए ।

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार ११:५४