यसवर्षको शैक्षिक सत्र खेर नजाने

काठमाडौं ।

यसवर्षको शैक्षिक सत्र खेर नजाने गरी ‘पाठ्यवस्तु समायोजन ढाँचा’ ल्याइएको छ। पाठ्यक्रम विकास केन्द्रले असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएको मानेर साविकको झैं चैतमा नै शैक्षिक सत्र पूरा गर्ने गरि पाठ्यवस्तु समायोजन ढाँचा ल्याएको जनाएको छ।

पाठ्यक्रम विकास केन्द्रका प्रमुख केशव दाहालले पाठ्यवस्तु समायोजन ढाँचाले यो वर्ष शैक्षिक सत्र खेर जाने हो कि भन्ने शंका हटाएको बताउनुभयाे । ‘समायोजन ढाँचाले यो वर्षको शैक्षिक सत्र कस्तो हुने र कसरी चैतमा नै सक्ने भन्ने प्रश्न अन्त्य गरेको उहाँकाे भनाइ छ । ‘यो ढाँचा अनुसार पढाउँदा चैतमा नै शैक्षिक सत्र सकिने समेत उहाँले बताउनुभयाे ।

‘पाठ्यक्रम घटेको होइन समायोजन भएको हो’

साविककै पाठ्यक्रमका आधारमा समायोजन ढाँचा ल्याइएको हो । यसअघि शिक्षकले सम्पूर्ण पाठ्यपुस्तक पढाउने गर्थे। नयाँ ढाँचा अनुसार भने एउटा पाठ्यपुस्तकलाई दुई भागमा विभाजन गरिएको छ, जहाँ शिक्षकको सहयोग चाहिने र शिक्षकको सहयोग विना पनि स्वअध्ययनबाटै अथवा अन्य विधिको प्रयोग गरेर सिक्न सक्ने गरि छुट्याइएको केन्द्र प्रमुख दाहालले बताउनुभयाे।

‘पाठ्यक्रम जस्ताको तस्तै राखेर ग्रुपिङ गरेका हौं,’ दाहालले भन्नुभयाे, ‘यसो गर्दा दुई ग्रुप बनाएका छौँ जसमा शिक्षकले सिकाउन पर्ने र विद्यार्थीले स्वंयले सिक्न सक्ने गरि यो ढाँचा आएको छ।’

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार ०९:१७