अब अदालतमा मुद्दा दर्ता गर्दा प्रतिवादीको नागरिकता र फोटो अनिवार्य पेस गर्नैपर्ने

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले अदालतमा अभियोगपत्र पेस गर्दा प्रतिवादीको नागरिकता र फोटो अनिवार्य पेस गर्नैपर्ने भएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग जोडिएको व्यक्तिको तस्बिर र नागरिकताको फोटोकपी अनिवार्य पेस गर्न विशेष अदालतले दुई निकायलाई निर्देशन दिएको छ ।

विशेष अदालतले दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई परिपत्र गर्दै अभियोगपत्र पेस गर्दा प्रतिवादीको फोटो र नागरिकता जारी भएको जिल्ला, नागरिकता नम्बरजस्ता विषय अनिवार्य खुलाउनुपर्ने कानुनी व्यवस्था भएकाले सोहीबमोजिम गर्न भनेको छ ।

भ्रष्टाचारजन्य गतिविधि र सम्पत्ति शुद्धीकरणको मुद्दा उस्तै प्रकृतिको नाम हुने गरेको र अदालत समेत गुमराहमा पर्ने स्थिति सिर्जना हुन नदिनका लागि विशेष अदालतले सो निर्देशन लागु गरेको हो । यसअघि सर्वोच्च अदालतले मुद्दा दर्ता गराउँदा नागरिकता र फोटोसहितको व्यक्तिगत विवरण अनिवार्य उल्लेख गराउन गत २७ माघमा सबै अदालतलाई भनेको थियो ।

‘मुद्दा दर्ता गर्दा प्रतिवादीको नागरिकताको विवरण पेस नगरेकाले अदालतबाट फैसला भएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन समस्या भएको, कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका व्यक्तिहरूको सार्वजनिक सेवा सुविधा रोक लगाउने कानुनी व्यवस्थामा समेत असर परेकाले नागरिकताको विवरण अनिवार्य रूपमा उल्लेख गर्नू’ सर्वोच्चले भनेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार १०:५८