मलमास के हो ? यस्तो छ पौराणिक कथा

काठमाडाैं ।

यस वर्ष असोज २ गते शुक्रबारदेखि अधिकमास अर्थात मलमास सुरु हुँदैछ । असोज २ गतेदेखि असोज ३० गतेसम्मको अवधिलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ ।

अधिकमासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दू धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

यस अवधिभर केही धार्मिक कार्यहरु भने गर्न मिल्छ । जस्तै बालकहरुको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरु र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ । यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्य कर्महरु पनि गर्न मिल्छ ।

सौरमण्डलमा रहेका ग्रहहरु सबै आआफ्नै रफ्तारमा हिँड्ने गर्दछन् । कुनै ग्रहहरु निकै छिटाे हिँड्छन् भने कुनै निकै कमको गतिमा हिँड्छन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरुदेखि लिएर मानिसको जन्मकुण्डली पनि हेर्ने गरिन्छ । निर्माण कार्यसँग सम्बन्धित वास्तुशास्त्रमा पनि ग्रहहरुको अनुसार नै कुन निर्माण कहाँ गर्ने भनेर निर्देशन गरिएको छ ।

पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नाे दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार ११:३०