कभर खबर

  • १३ आश्विन २०७७, मंगलवार १२:४४

७५ लाख नेपालीमा मुटुको समस्या,कस्ता हुन्छन् मुटुरोगका लक्षण ?

काठमाडौं ।

आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि गतवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरीन्छ ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।२० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकको भनाइ ।

यस्ता छन् मुटुरागका लक्षण 

मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो हुने, डोरीले बाँधेको जस्तो, मुठ्ठीले थिचेको जस्तो, आगोले पोलेको जस्तो हुन्छ । यस्तो दुखाइ दायाँ–बायाँ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर सर्ने गर्दछ ।

दम बढ्ने
धेरैजसो मानिसले दम बढ्यो भने फोक्सोमा खतरा भएको भनि सोच्दछन् । यो केही सत्य भए
पनि दम खोकीको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । परिश्रम गर्दा उत्पन्न दम धेरैजसो मुटुकै कमजोरीले हुने गर्छ ।

खुट्टा सुन्निने
खुट्टाको घुँडादेखि कुर्कुचासम्म अगाडिपट्टिबाट रहेको लामो हड्डीमाथि औँलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भन्ने बुझ्नुपर्छ ।

घाँटीको रक्तनली फुल्ने
घाँटीको बाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भन्ने बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसा राम्रोसँग फुलेको देखिन्छ ।

औँलाका टुप्पा बाक्लो हुने
स्वस्थ मानिसको औँलाका टुप्पा चिटिक्क परेका थेप्चा हुन्छन् । मुटुमा समस्या भएका मान्छेको औँलाका टुप्पा
बाक्लो हुन्छ ।

टाउको दुख्ने, चक्कर लाग्ने
रक्तचाप बढ्यो भने टाउको दुख्छ, चक्कर लाग्ने हुन्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिला भयो भने चक्कर लाग्ने हुन सक्छ । १ मिनेटमा ६० देखि १०० पल्ट धड्कनुपर्ने मुटु प्रतिमिनेट ४५ भन्दा कमपल्ट धड्कियो भने चक्कर लाग्ने हुन्छ ।

कफमा रगत देखापर्ने
क्षयरोग र क्यान्सर लाग्दा मात्र हैन, कहिलेकाहीँ मुटुमा समस्या हुँदा पनि कफमा रगत देखापर्ने हुन सक्छ । जोर्र्नीहरू दुख्ने र ज्वरो आउने, हातखुट्टा, ओठ आदि झड्का दिँदै अनियन्त्रित रूपमा चल्ने, छातीमा हात राख्दा बेग्लै आवाज आउनेजस्ता लक्षण देखापरे मुटुरोग लागेको हुन सक्छ । नयाँ पत्रिकामा खबर छ |

प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलवार १२:४४