नेपालमा अबको दुई हप्ता कोरोना उत्कर्षमा पुग्ने

काठमाडौं ।

नेपालमा दैनिक दुई हजारभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । जसका कारण नेपालमा कोरोना महामारीले उच्च रूप लिन सक्ने देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले केही समयअघि नै नेपालमा अक्टोबर महिनामा कोरोना संक्रमण विस्तार उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको थियो । जसअनुसार आज अक्टोबर ४ तारिख । नेपालीहरूको ठूलो चाड बडादशैं अक्टोबर महिनामै पर्छ । त्यसैले एक जिल्लाका नागरिक अर्को जिल्लामा आवतजावत गर्ने भएकाले पनि कोरोना संक्रमण तीव्र ढंगले फैलिने अनुमान गरिएको हो ।

जाडो बढेसँगै खासगरी दीर्घरोगी र वृद्धवृद्धा कोरोना भाइरसको उच्च जोखिममा पर्ने भएकाले अबका दुई हप्ता सबैभन्दा सतर्क हुनुपर्ने समय भएको स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् ।काठमाडौंमा संक्रमण जताततै फैलिएकाले घरमा ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर निस्कन नदिने, मास्क र भौतिक दूरीसँगै खुला स्थानमा भेटघाट गर्ने, झ्यालढोका बन्द भएका ठाउँमा नभेट्ने जस्त क्रियाकलाप गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । नेतादेखि सरकारी कर्मचारी सबैमा कोरोना संक्रमण देखिन थालेको छ । बढ्दो संक्रमितसँगै अस्पतालमा शनिबारदेखि बेडको अभाव सुरु भइसकेकाले जनता आफैं उच्च सतर्कतामा बस्नुपर्ने बेला आइसकेको छ ।

 

प्रकाशित मिति: १८ आश्विन २०७७, आईतवार ११:४०