
काठमाडौं ।
कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको स्पष्ट पार्नुभएकाे छ ।
सोमबार आयोजित ‘वैकल्पिक सिकाइ मूल्याङ्कनका आधार र तयारी’ विषयक भर्चुअल अन्तक्र्रियामा भट्टराईले भन्नुभयाे, ‘यो वर्ष पढाएर परीक्षा लिने होइन, सिकाएर विद्यार्थीको मूल्याङ्कन गर्ने हो । त्यसैका आधारमा विद्यार्थीलाई कक्षान्नोति गर्ने हो ।’अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत् वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्यौल विद्यालयहरुमा रहिरहेको अवस्थामा निर्देशक भट्टराईले यसबारे थप स्पष्ट पार्नुभएकाेहाे । उहाँले शिक्षकहरुलाई तीनघण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइएको बताउनुभयाे ।
अंकको अल्झनमा परेर ग्रेडिङ गर्नेभन्दा पनि विद्यार्थीले जानेको र उनीहरुले गरेका क्रियाकलापलाई आधार मानी शिक्षकले मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । ‘मुख्य कुरा विद्यार्थीले पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गरे/गरेनन् भन्ने हो । उनीहरुले के सिके भन्नेबारे कसरी मूल्याङ्कन गरियो भनेर शिक्षकले प्रमाणचाहिँ राख्नु पर्छ,’ भट्टराईले भन्नुभयाे ‘गृहकार्य गराएको हो वा परियोजना कार्य ? अथवा टेलिफोनबाट प्रश्न सोधिएको हो ? त्यसको प्रमाण शिक्षकले राख्नु पर्छ । त्यो नै कार्यसञ्चयिका हो । अनि मात्र त्यसले मान्यता पाउँछ ।’
पाठ्यवस्तु समायोजन ढाँचाअनुसार खासगरी तीन प्रकारको मूल्याङ्कन हुनेछन् । एउटा निरन्तर, दोस्रो प्राक्टिकल र तेस्रो प्रमाणीकरण मूल्याङ्कन । यसमा ‘टेक्स्ट’ (पाठ्यवस्तु) र ‘कन्टेक्स्ट’ (परिवेश)मा आधारित प्रश्न सोध्न सकिनेछ । गृहकार्य, परियाजना कार्य, साना समूहमा विभाजन गरी प्रश्न राख्ने, टेलिफोनमार्फत् सोध्ने, अनलाइन प्रविधि आदि विधिबाट विद्यार्थीको मूल्याङ्कन गरिने बताइएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलवार ०६:३९