
सल्यान ।
शारदा नगरपालिकाको न्यायिक समितीले उजुरी पेटिका मार्फत समस्या सम्बोधन गर्ने भएको छ । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना, युएनडिपिको सहयोग र दलित सेवा संघ र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारिमा संचालित कार्यक्रम अन्तरगत आइतबार यस नगरपालिकाको न्यायिक समितीको कार्यालयलाइ उजुरी पेटिका वितरण गरिएको हो ।
नगर उप प्रमुख तथा न्यायिक समितीका संयोजक सावित्रा बस्नेतले कार्यालयमा उजुरी पेटिकाको उद्घाटन गर्दै प्रत्येक कार्यालयमा परेका उजुरीहरु लाइ तत्काल सम्बोधन गर्ने बताउनु भयो । उहाँले हाल सम्म पनि न्यायिक समितीको इजलाश र कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भइ रहेको अवस्थामा संघसंस्थाहरु संगको सहकार्यले समेत केही टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले हाल सम्म न्यायिक समितीलाइ व्यवस्थापन गर्न समस्या भएपनि आगामी दिनमा छुट्टै इजलाश कक्ष र कानुनी सल्लाहकारको समेत परिपुर्ती गर्न सकिने बताउनु भयो । उहाँले यसरीनै संघसंस्थाहरु संगको सहकार्य र समन्वयले पनि काम गर्न सहज हुने बताउनु भयो ।
नगरपालिका भित्रका सिमान्तकृत समुदाय,पिछडिएका वर्ग, दलित महिलाहरूलाइ न्यायमा पहुँच पुर्याउन सहज होस भनेर न्यायिक समितिको कार्यालयमा उजुरी पेटिका वितरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र सल्यानका अध्यक्ष सोविता बस्नेतले बताउनु भयो ।
कुनै पनि दलित तथा पिछिडएका वर्गहरूलाइ समस्या परेको समयमा कार्यालय समय अवधि बाहेक पनि आफ्ना समस्या तथा गुनासाहरू उजुरी पेटिकामा राख्न सहज हुने उद्देश्यले न्यायिक समितीको कार्यालय बाहिर उजुरी पेटिका राखिएको उहाँले बताउनु भयो । उक्त उजुरी पेटिकामा रहेका गुनासा, निवेदन प्रत्येक दिन खोलिने र त्यसको सुनुवाइ हुने न्यायिक समितीले जनाएको छ ।
प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार २१:३४