मानव अधिकार संरक्षणका लागी सल्यानमा ७ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर

सल्यान ।

७२ औं अन्तराष्ट्रीय मानवअधिकार दिवसको अवसरमा सल्यानमा ७ बुँदे प्रतिबद्दता पत्रमा सामुहिक हस्ताक्षर गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा नेपालको संबिधानमा ब्यवस्था गरिएका मौलिक हक र अन्य कानुनी ब्यवस्थाको पूर्ण कार्यान्वयनका लागी प्रतिबद्ध रहदैँ ७ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

मानवअधिकारप्रति पूर्ण सचेत र बफादार रहने, मानवअधिकारको पूर्ण सम्मान र संरक्षण गर्ने, मानवअधिकार बिरुद्धका कुनै पनि कार्य नगर्ने, हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न पूर्ण समर्पित रहने, मानवअधिकार उल्लंघन हुने र अवज्ञा गर्ने बिरुद्ध कारवाहीका लागी पहल गर्ने लगाएतका ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

म मानवअधिकार कार्यान्वयनमा राज्य÷सरकारलाइ कर्तव्यनिष्ठ नागरिकको हैसियितमा सहयोग गर्ने छु भन्दै सात बुँदे प्रतिबद्दतापत्रमा जिल्लाका सरोकारवालाहरुले हस्ताक्षर गर्दै प्रतिबद्दता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जुनसुकै अभियान पनि आफुबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो मैले मानअधिकारको पुर्ण पालना गर्छु र सही ढंगले कर्तव्य निर्वाह गर्ने छु भनेर म आफैले प्रतिबद्दता व्यक्त गर्दछु ।


जिल्ला प्रशासन कार्यालय सल्यान तथा युएसएआइडीको समन्वय तथा इन्सेक नेपाल सल्यान,रेस नेपाल,हरप्लेस सल्यान तथा महिला मानवअधिकार वकालत केन्द्र सल्यानको आयोजनामा आयोजित कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभयो ।

सो अवसरमा सहभागी सरोकारवालाहरुले मानवअधिकारको रक्षाका लागी सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार १९:३८