
सल्यान ।
सल्यानकाे पहिलाे सामुदायिक रेडियाे, रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले १३ औँ बार्षिकोत्सवका अबशरमा शुक्रवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
कायक्रममा बाेल्दै सल्यानको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले सामुदायिक रेडियो प्रतिको आमनागरिकको बिश्वास बढेको बताउनु भयाे । पछिल्लो समयमा सञ्चारका बिभिन्न माध्यमहरु स्थापना तथा सञ्चालन भैरहेपनि रेडियोप्रतिको आमनागरिकको बिश्वास बढ्दै गएको बताउनुभएको हो ।
अधिकारीले अहिले छिटो सुचना प्रवाह गर्ने होडबाजीमा लागेर गलत सुचनाहरु पनि सार्वजनिक हुने र यसले आमनागरिकमा नकारात्मक प्रभाव पारेको बताउनुभयो । ‘छिटो सुचना प्रवाह गर्ने होडवाजीमा लागेर गलत सुचना प्रवाह भैरहेका छन्, सामाजिक सञ्जाल तथा अन्लाइन प्रति नागरिकको बिश्वास कम भएको छ, यस्तो अबस्थामा नागरिकको सुचनाको भरपर्दो माध्यम नै रेडियो हो’ उहाँले भन्नुभयो ।
उहाँले बर्षौ देखी रेडियोले प्राप्त गरेको बिश्वासलाई जीवन्त राख्नको लागी सक्रियताका साथ लाग्न रेडियो परिवारलाइ आग्रह गर्नुभएको छ । ‘आवाज विहिनको आवाजको रुपमा रेडियोले काम गर्नुपर्छ, रेडियो समाजको ऐना हो, यसले सत्य र तथ्य मात्रै बोल्नुपर्दछ’ उहाँले भन्नुभयो ‘समाजमा पछि परेका नागरिकको आवाज बुलन्द गर्दै रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारणमा जोड दिनुपर्दछ ।’
नगरप्रमुख अधिकारीले सबैको पहुँच र सुचनाको भरपर्दो साधन रेडियो भएको बताउनुभएको छ । ‘नागरिकले जहाँ पनि, जता पनि, जति बेला पनि रेडियोबाट सुचना प्राप्त गर्न सक्छ’ उहाँले भन्नुभयो ‘रेडियोको बृद्धि र विकासको लागी सबै पक्ष मिलेर लाग्न आबश्यक छ ।’ विगतका बर्षहरुमा पनि नगरपालिकाले रेडियोसँग सहकार्य गरेर काम गरेको र आगामी दिनहरुमा पनि सहकार्य तथा समन्वय गर्न तयार रहेको उहाँको भनाई छ ।
रेडियो राप्तीको सञ्चालक संस्था शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले समुदायका नागरिकले समुदायका लागी नै रेडियो स्थापना गरेकाले समाजको भलाई र हितमा हुने गरी काम गर्न सुझाव दिनुभयो ।
यस्तै सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले छिटो सुचना प्रवाह गर्दा गलत सन्देश समाजमा जानेभएकाले सत्यतथ्यमा रहेर सुचना समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
यस्तै पत्रकार खकेन्द्र केसीले जिल्लामा दर्जनौँ सञ्चार माध्यम स्थापना भैसकेको अबस्थामा रेडियो राप्तीले अभिभावकिय भूमिका निर्वाह गरेको र आमनागरिकबाट पाएको बिश्वासलाई जीवन्त राख्न अझै सक्रियताका साथ काम गर्न सुझाव दिनुभयो ।
शारदा मिडिया संगमका अध्यक्ष गौतमले सुचनाको पहुँचबाट टाढा भएका नागरिकहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्धेश्यले २०६४ साल मंसिर २६ गते रेडियोले नियमित प्रशारण शुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई शारदा मिडिया संगमका सहसचिव मनविर बस्नेतले धन्यावाद ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रेडियोका प्रशासनिक प्रमुख शिव डाँगीले गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार १९:२२