७७ जिल्लाका प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न गृहमन्त्रालयकाे निर्देशन

काठमाडौँ — सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै देशभर विरोध भइरहेको छ । सत्तारूढ र प्रतिपक्षी दलका नेता–कार्यकर्ता विरोधमा उत्रिइसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि प्रदर्शन हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएका थिए । त्यसपछि गृहले देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिँदै जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रजिअहरूलाई माथिको आदेशबिना जिल्ला छाडेर नहिँड्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म बिदा बस्न र निमित्त जिम्मेवारी दिएर जिल्ला नछाड्न निर्देशन दिइएको बताउनुभयाे । विभिन्न समूहका कार्यक्रम जुध्ने गरी एकै स्थानमा सञ्चालन गर्न नदिन पनि स्पष्ट निर्देशन दिइएको उहाँले बताउनुभयाे ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार मात्रै काठमाडौंसहित १३ जिल्लाका २३ स्थानमा प्रदर्शन र जुलुस निस्किएको थियो । सिंहदरबार दक्षिणगेटअघि विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीलगायतका मानवअधिकारवादी तथा नागरिक अगुवा पक्राउ परेका छन् । उनीहरूलाई दिनभर पुलिस क्लबमा राखेर साँझ रिहा गरिएको थियो ।

प्रकाशित मिति: ७ पुष २०७७, मंगलवार १२:४१