महिला संगठनद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा संयुक्त संघर्षका कार्यक्रम घोषणा

सल्यान ।

विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् । सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैह्रजिम्मेवार भएको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको उनले बताइन् ।

सरकारको कदमविरुद्ध नेपाल बार एशोसियसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तरक्रिया गर्ने, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी जनप्रदर्शन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।

प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभइ प्रतिगामी शक्तिहरु सलबलाउने भन्दै महिला संगठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष उनीहरुको छ ।

प्रकाशित मिति: ९ पुष २०७७, बिहीबार १४:०६