सल्यानमा नेकपाको बृहद शक्ति प्रर्दशन, जनआन्दोलनको झल्को आउने गरी मानिसहरु सदरमुकाम भेला

रमेशकुमार वली  /सल्यान ।

सल्यानमा प्रचण्ड माधव समहको नेकपाले जनआन्दोलनको झल्को दिने गरी सदरमुकाम खलंगामा जनप्रदर्शन गरेको छ । जिल्लाका दशवटै स्थानीयतहरुबाट नेकपाका कार्यकर्ताहरु प्रधान मन्त्री केपी ओलीले गरेको संसद विघटनको विरुद्धमा तय गरिएको देशव्यापी आन्दोलनका लागि सदरमुकाम आएका थिए ।

लुहापिंगबाट बाजागाजा सहित शुरु भएको प्रर्दशन पुरानो वसपार्क, नयाँ वसपार्क, जिल्ला प्रहरी कार्यालय हुदै पुरानो वसपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपाका केन्द्रिय, प्रदेश तथा जिल्लास्तरीय नेताहरुले सम्वोधन गरेका थिए ।


कसले के भने  
हाम्रो कारणले केपी ओलीको पार्टीले जितेको हो – प्रकाश ज्वाला
नेकपा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले आफुहरुको कारणले केपी ओली सरकारमा गएको बताउदै ओलीले जनतालाई धोका दिएकोले पत्तासाप हुने दावी गर्नुभयो । बहुमत हुदा हुदै संवैधानिक कु गरेका केपी ओलीलाई अव चुनाव जितेर देखाउन ज्वालाले चुनौति दिनुभयो ।

“जनताले केपी ओलीलाई पाँच बर्षका लागि जिताएका थिए तर उनले तीन बर्षमै संसद विघटन गरेर जनताको अपमान गरेका छन्, संविधानको अपमान गरेका छन्, यो अपमान गर्ने जो सुकैलाई पनि सत्तामा वस्ने कुनै अधिकार छैन” ज्वालाले भन्नुभयो ।
इतिहासमा जरा गाडेर वसेका राजा ज्ञानेन्द्रलाई समेत ढाल्न सक्ने जनताले केपी ओलीलाई सत्ताबाट हटाउनका लागि कुनै वार पर्खनु नपर्ने उहाँको भनाई छ । “आज जनता संसद विघटनको विपक्षमा छन भन्ने कुरा आज देशभर सडकमा उत्रिएका जनताहरुलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ अव सिंगो देश केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा छ अव केपी ओलीलाई हटाउनका लागि कुनै आइतबार पर्खनुपर्दैन ” ज्वालाले भन्नुभयो ।

आज आफुलाई आधिकारिक नेकपा भन्नेहरु कुनामा वसेर कार्यक्रम गरिरहेको भन्दै ज्वालाले जनतालाई भ्रममा पारेर कार्यक्रम गरिरहेको आरोप लगाउनुभयो । “केही राप्रपाका झोलेहरुको साथ लिएर नेकपा बन्दैन वरु कान्छो राप्रपा भन्दा सुहाउछ” ज्वालले भन्नुभयो ।
जनआन्दोलनका क्रममा आफनो घरको कौसीबाट केपी ओलीले बयलगाडा चढेर अमेरिका पुग्न सकिदैन भन्ने केपी ओलीको आगामी चुनाव चिन्ह बयलगाडा हुने ज्वालाले दावी गर्नुभयो ।“जनआन्दोलनका क्रममा समेत जनआन्दोलनलाई अपमानित गर्ने गरी बीचार व्यक्त गर्ने ओलीको चुनवा चिन्ह पनि बयलगाडा हुनेछ र बयलगाडाले शुन्य सिट ल्याउनेछ,” ज्वालाले भन्नुभयो ।
आफुले पार्टीमा गरेको योगदान गरेर पार्टी निर्माण गरेकाले आज जनताहरु आफनो साथमा रहेको दावी गर्नुभयो । “हिजोका दिनमा हामीले पाटी दुख गरेर निर्माण गरेका हौ, पार्टीमा हाम्रो लगानी छ र आजै हामीले सल्यान नेकपाले कव्जा गरेको छ अव कसैको भ्रममा नपर्नुस,” ज्वालाले भन्नुभयो ।

उहाँले यो आन्दोलनको प्ररारम्भ भएको र आगामी दिनहरुमा अझ शसक्त रुपमा अघि बढने दावी गर्नुभयो । जिल्लामा अरु कसैले नेकपा हुन्छु भन्छ भने त्यो सम्भव नहुने भन्दै ज्वालाले अन्तिममा राप्रपाका झोलेहरु मात्रै बाँकी हुने दावी गर्नुभयो ।
ओलीले गैरजिम्मेवारपन देखाए -केन्द्रीय सदस्य बस्नेत
नेकपाका केन्द्रीय सदस्यत तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर वस्नेतले केपी ओलीले गैर जिम्मेवारपन देखाएको बताउनुभयो । जनताले स्थिर सरकार चाहेको भएपनि केपी ओलीको अराजक शैलैका कारण लोकतन्त्र समेत खतरामा परेको दावी गर्नुभयो ।“जनताको लामो संघर्ष र बलिदानबाट मात्रै लोकतान्त्रिक गणतन्त्र आएको र जनताले स्थितरता चाहेको बेलामा ओलीले गैरसंवैधानिक कदम चालेर धोका दिए,” वस्नेतले भन्नुभयो ।


बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी गरे भन्नु लाजमर्दाे भएको बताउनुभयो राज्यको प्रमुख जिम्मेवारीमा बसेको मान्छेले कतैबाट घेराबन्दी भयो भनेर संसद विघटन गर्नु आफैमा हास्यापद र लाजमर्दो भएको बताउनुभयो । “दुइतिहाइको सरकारका प्रधानमन्त्रीले घेराबन्दी भयो भन्दै संसदबाट भाग्नु भनेको कायरतापन हो, यो जनतामाथीको धोका हो,” वस्नेतले भन्नुभयो । ओलीले संसद विघटन गरेर घिनलाग्दो काम गरेको उहाँले बताउनुभयो ।
ओलीले ठुलो गल्ती गरेकोले त्यसको हिसाबकिताब अब इतिहासले देखाउने उहाँको भनाइ छ । अब सडक विघटनको न्याय सडक आन्दोलन र अदालतले देखाउने वस्नेतले बताउनुभयो । नेकपा आधिकारिक पार्टी आफुसँग भएको भन्दै उहाँले निर्वाचन कार्यालयले छिट्टै न्याय दिने समेत बताउनुभयो ।


कार्यक्रममा पार्टीका नेताहरु उमाकान्त शर्मा, धिरेन्द्र श्रेष्ठ, उदय बोहोरा, कृतिबहादुर पुन, निम बहादुर केसी,भिम प्रकाश शर्मा, भद्रसिंह बुढा, टिका बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो । पार्टीका जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य रमेश कु्मार गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: १४ पुष २०७७, मंगलवार २२:४९