गणतन्त्र बचाउन नागरिक समाजले सारथीको भुमिका खेल्नुपर्छः नेता बस्नेत

कभरखबर डेस्क,सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले नेपाली जनताको रगत र पसिना बाट आर्जेको गणतन्त्र र संबिधानलाई कू गरिएको बताउदै गणतन्त्र बचाउन सारथीको भुमिका खेल्न नागरिक समाजलाई अपिल गर्नु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले बिहीवार खलंगामा आयोजना गरेको संसद विघटनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशमा गणतन्त्र आउनुमा नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, बौद्धिक समुदाय सबैको महत्त्वपूर्ण भुमिका छ उहाँले भन्नुभयो,हिजो यो व्यवस्था ल्याउन सारथि बनेको नागरिक समाजले आज यसलाई बचाउन पनि सारथीको भुमिका खेल्नुपर्छ ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बस्नेतले प्रधानमन्त्री ओलीले असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम चालेर संसद विघटन गरेको र आगामी बैशाखमा चुनाव सम्पन्न हुन्छ भनेर आमनागरिकमा भ्रम सिर्जना गरेको बताउनुभयो । उहाँले ओलीको अहिलेको रणतिनि सत्ता लम्ब्याउने खेल मात्रै भएको आरोप लगाउनु भएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा कर्णाली प्रदेश सदस्य धिरेन्द्र श्रेष्ठले अहिलेको संकटको सामा नेकपाले मात्र नभइ सिंगो देशले व्यवहोर्नु परेको बताउनुभयो । प्रधामन्त्री वलीले संसद विघटन गरेर आम जनता तथा देशलाई प्रभावित गरेको भन्दै उहाँले वलीले देश विरोधी काम गरेको आरोप लगाउनु भयो ।

०७२ को संबिधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउदै उहाँले संसद विघटन गरेर जनताको अधिकारलाई प्रभावित गर्ने काम भएकोले जनतालाई सार्वभौम बनाउन नागरिक समाज पनि जिम्मेवार बन्नुपर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी सदस्य रमेश गौतमले राजनीतिक, संवैधानिक र व्यवहारीक हिसाबले पनि प्रधानमन्त्रीले चालेको कदम गलत भएको बताउनुभयो । कार्यक्रममा नागरिक समाजका अगुवाहरु, पत्रकार,अधिवक्ता लायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार २१:५८