
सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यक्रम अन्र्तगत आज सल्यानको खलंगामा संसद विघटनको बिरुद्धमा नेपालको सडक संविधान वाचन तथा ब्याख्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले प्रधानमन्त्री ओलीले संबिधानको हत्या गरेको बताउनुभयो ।
लामो समयको त्याग र बलिदानबाट स्थापित संविधान पुर्ण कार्यान्वयनको चरणमा रहेको अबस्थामा प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर संविधानको हत्या गरेको बताउनुभएको हो । नेकपाका सल्यान जिल्ला इन्चार्ज तथा संघर्ष समितीका जिल्ला संयोजक समेत रहनुभएका बस्नेतले संविधानमा औँलो ठड्याउने अधिकार कसैलाई नभएको अवस्थामा प्रधानमन्त्रीले संविधान विपरित गएर संसद विघटन गर्नु असंबैधानिक कार्य भएको बताउनु भएको हो ।
उहाँले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता तर्फ धकेल्नका लागी नै संसद विघटन गरेको हुनसक्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले संसद विघटनको कार्यलाई खारेज गरेरै छाड्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटी सदस्य धिरेन्द्र बहादुर श्रेष्ठले प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अपमान गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता रत्न लाल वलीले संविधान वाचन गर्नुभएको थियो भने अधिबक्ता सिपि ओलीले संविधानको ब्याख्या गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले गर्नुभएको थियो ।
प्रकाशित मिति: २६ पुष २०७७, आईतवार २१:४१