कक्षा १२ को नतिजा अझै आएन तर विश्वविद्यालयमा भर्ना खुल्यो

कभरखबर डेस्क ।

विश्वविद्यालयहरूले शैक्षिक सत्र ०७७/०७८ का लागि भर्ना खुला गरेका छन् । कक्षा १२ उत्तीर्ण भएपछि स्नातक प्रथम वर्षमा भर्ना हुनुपर्ने विद्यार्थीले नतिजा थाहा नपाईकनै स्नातक तहमा भर्ना प्रक्रियामा सहभागी भएका छन् । कक्षा १२ को परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत पुस मध्यसम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिका समेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए, तर व्यवस्थित नहुँदा बोर्डले माघ सुरुमा नतिजा सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न सकेन । १ माघमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले १० दिनभित्रै नतिजा आउने बताएका थिए । तर, आइतबारसम्म पनि नतिजा सार्वजनिक भएन । अझ केही दिन लाग्ने बोर्डका अधिकारीको भनाइ छ ।

बोर्डका अध्यक्ष पौडेलले परीक्षा भद्रगोल भएका कारण लक्ष्यअनुसार काम नभएको बताए । उहाँले भन्नुभयाे  ‘एकदमै भद्रगोल भएका कारण ढिलाइ भयो, अब अन्तिम अन्तिमतिर पुगेका छौँ ।’ एक–एक गरेर सबै हेर्नुपर्ने भएकाले धेरै समय खर्चिनुपरेको उहाँले बताउनुभयाे। केही विद्यालयले माक्स फाइल व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमसँग नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ हुने भएको हो । गत ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी विद्यार्थीलाई नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएको भन्दा बढी नम्बर पठाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमसमेत दिएको थियो । अभिमुखीकरण तालिम दिए पनि केन्द्राध्यक्षहरूले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पौडेलको भनाइ छ ।

बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यसैगरी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड–१९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । देशभरमा चार हजार एक सय ५ परीक्षा केन्द्र कायम भएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो ।

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुन आवेदन गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको हो ।

त्रिविले भर्ना खोल्यो, रिजल्ट नआए पनि फारम वितरण गर्ने 
त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकायअन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०७७/०७८ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको छ ।

१२ माघदेखि भर्ना गर्ने र २५ फागुनदेखि कक्षा सञ्चालनको तालिका निकालेको छ । वार्षिक प्रणालीका कार्यक्रममा प्रवेश परीक्षा तोकिएको छैन । इन्जिनियरिङलगायतका अध्ययन संस्थान तथा सेमेस्टर प्रणालीमा सञ्चालन भएका डिन कार्यालयले फारम वितरण गरी प्रवेश परीक्षा समेत गर्दै छन् । १४ माघमा इन्जिनियरिङको प्रवेश परीक्षा लिँदै छ । सिम्याटलगायतको परीक्षासमेत निर्धारण गरिएको छ ।

वार्षिक प्रणालीमा सञ्चालन हुने कार्यक्रममा प्रवेश परीक्षाको कार्यक्रम नभएकाले नतिजा आएपछि मात्र भर्ना गर्ने तयारी क्याम्पसहरूको छ । त्रिविको आंगिक पब्लिक युथ क्याम्पसले विद्यार्थीले स्नातक प्रथम वर्षमा नयाँ भर्नाको फारम वितरण गर्ने, तर नतिजा आएपछि मात्रै भर्ना गर्ने योजना बनाएको क्याम्पस प्रमुख बलराम थापाले बताए ।

उनले भने, ‘पास नै भएको विद्यार्थी भर्ना भयो भनेपछि समस्या हुने भएकाले रिजल्ट नआउँदासम्म फारम मात्रै वितरण गर्ने र रिजल्ट तथा सर्टिफिकेट आएपछि भर्ना गर्ने तयारी गरेका छौँ ।’ सेमेस्टर प्रणालीका कार्यक्रमको भने प्रवेश परीक्षा तयारी छ । कोभिड–१९ का कारण कक्षा १२ को परीक्षा लिन ढिलाइ भएको थियो । परीक्षा व्यवस्थित नहुँदा नतिजामा ढिलाइ भएको छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार ०८:२९