अब कोरोनाविरुद्धको खोप जनप्रतिनिधिलाई

काठमाडौँ ।

सरकारले अब कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारी राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ सम्म निर्धारण गरेको हो ।

मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले फागुन २ बाट सर्वसाधारणलाई सेवा प्रवाह गर्ने जिल्लास्थित सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले यो निर्णयअनुसार वडा सदस्यले पनि खोप लगाउन पाउने बताउनुभयाे।उहाँका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका, जिल्लाका पत्रकारलाई पनि त्यही बेला खोप लगाइनेछ ।

सरकारले भारतमा बनेको कोभिसिल्ड खोप खरिद गर्ने निश्चित भएपछि मन्त्रालयले खोप लगाउनेको नयाँ प्राथमिकता तोकेको हो । सरकारले २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि प्रक्रिया टुंग्याएको छ । खोप आइपुग्ने मिति भने मन्त्रालयले खुलाएको छैन । ‘खरिद गरेको खोप चाँडै आउने जानकारी पाएका छौं,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

यसअघि भारत सरकारले १० लाख मात्रा खोप अनुदानमा दिएपछि पहिलो चरणमा माघ १४ देखि २४ सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका थिए ।

 

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार १२:२५