
सल्यान ।
पछिल्लो ३ वर्षमा डिभिजन वन कार्यालय सल्यानले वन पैदावार तथा वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तु चोरी सिकारी गर्ने ३५, वन पैदावार ओसारपसार गर्ने ३७ र वनमा आगजनी गर्ने ४ जनालाई पक्राउ गरिएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताउनुभयो ।
पक्राउ परेकामध्ये ७३ जनाको मुद्दा जिल्ला अदालतबाट फैसला भइसकेको र ३ जनाको मुद्दा अनुसन्धानको क्रममा रहेको उहाँले बताउनुभयो ।
सामुदायिक वनमा चोरी सिकारी बढेसँगै नियमित गस्ती गर्न थालेपछि अवैध काममा संलग्नहरु पक्राउ पर्न थालेको कार्यालयले जनाएको छ ।
‘संलग्नहरु धमाधम पक्राउ परिरहेका छन्,’उहाँले भन्नुभयो,‘चेतनाको अभाव र आर्थिक लालचले अझै चोरी सिकारी र अवैध निकासी रोकिएको छैन ।’ उहाँले चोरी शिकारीका कारण वनक्षेत्र र वन्यजन्तु समेत मासिदै गएको बताउनुभयो ।
प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलवार ११:३१