कभर खबर

  • २२ फाल्गुन २०७७, शनिबार १२:०१

बास बस्ने जमिन उपलब्ध गराउन सरकारलाई सल्यानका भुमिहिनको आग्रह

कभरखबर डेस्क ।

सल्यानका भुमिहिन तथा सुकुम्बासीहरुले बास बस्ने एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । भूमिहिन जीवन कटाई रहेका बादी समुदायले आफ्नो नाउँमा एक टुक्रा जमिन पाएको देख्न एउटा मात्र धोको रहेको बताए छन् ।

फागुन २१ गते सल्यान खलंगामा इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकार सम्बन्धि सरोकारवा बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जिविकोपार्जन गर्ने चाहाना रहेका बताएका हुन् ।

पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको शारदा नगरपालिका ३ संगीतटोलकी अनिता गन्दर्भले बताउनुभयो । उहाँले भन्नुभयो ‘आफूजस्तो सुकुम्बासी आउँदो पुस्ता नबनोस , छोराछोरीको साथम जग्गाधनीको प्रमाण पत्र होस ।’

आफ्नो नाममा जग्गा नहुँँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला वादीले बताउनुभयो ।यस्तै शारदा नगरपालिका १५ स्यालपानीकी बाला कुमारी बादीको जग्गा धनि लालपुर्जा छैन । विगत ४० बर्ष देखी स्थायी रुपमा बस्दै आएपनि बस्नलाई एउटा घर छ तर न लालपुर्जा छ, न त जग्गा जमिन नै छ । यहाँ १० घरपरिवार बस्दै आएपनि ३ घरपरिवारको अझै सम्म बस्ने आवास नै छैन ।

भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले बताउनुभयो । नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहेपनि यस आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गर्नुभयो ।

जिल्लामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य भइरहेको उहाँले बताउनुभयो । सल्यानमा धेरै अव्यवस्थित बसोबास रहेको डाँगीको भनाई छ । सरकारले भूमिहिन तथा सुकुम्बासीलाई घरका लागि ३ सय ४० वर्गमिटर र खेतीपातीका लागि ३ हजार वर्गमिटर जमिन उपलब्ध गराउने बताउनुभयो ।

इन्सेकको इएलपी परियोजनाका संयोजक रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार १२:०१