
दैलेख ।
सोमवार बिहान चार छोराछोरीसहित बेपत्ता भएकी दैलेखको आठबीसकोट नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र तीन बच्चाको शव कर्णाली नदीमा भेटिएको छ ।
घटनास्थल पुग्नुभएका दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव मङ्गलवार दिउँसो कर्णालीको पल्लो किनारा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ बेलखेतमा भेटिएको हो ।
सुकीकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल र माहिली छोरी १२ वर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो अछामको बेलखेतमै भेटिएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।
सँगै बेपत्ता भएकामध्ये चार जनाको शव भेटिए पनि सुकीको कान्छी छोरी रजनी बडुवालको अवस्था जानकारी हुन नसकेको डीएसपी श्रेष्ठले बताउनुभयो ।
सुकी उहाँका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवालसँग अघिल्लो साँझ घरायसी विवाद भएको र सोमवार बिहानै चार सन्तानसहित घरबाट निस्किएकोमा सोमवार दिउँसो दुई छोरीको शव भेटिएपछि कर्णाली नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै प्रहरीले खोजी थालेको थियो ।
घरमा दिनहुँजसो झगडा भइरहने गरेकाले सुकी बडुवालले चार छोराछोरीसहित आफूले आत्महत्याको निर्णय रोजेको हुन सक्ने आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोराले टिप्पणी गर्नुभयो ।
घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी इञ्चार्ज डीआईजी वसन्तकुमार पन्त, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठ मङ्गलवार बिहानै घटनास्थल पुगेका हुन् । मृतकहरू दैलेखका भए पनि अछामको क्षेत्रमा शव भेटिएका कारण पोस्टमार्टम गर्न अछाम लैजाने तयारी भइरहेको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलवार १५:३३