कर्णाली प्रदेश सरकारलाई एमालेको समर्थन कायमै छः मन्त्री ज्वाला

कभरखबर ।

कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको समर्थन कायमै रहेको नेता ज्वालाले प्रष्ट पार्नु भएकाे छ । कर्णाली प्रदेशका अर्थ मन्त्रि समेत रहेका नेता ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनु भयाे ।

 उहाँ लेख्नुहुन्छ – आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं, औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं।‘ – (प्रकाश ज्वालाको वक्तव्य)

मन्त्री ज्वालले औपचारिक सूचना बिनै बोलाइएको गुटगत बैठकलाई संसदीय दलको बैठक भनेर मान्न नसकिने बताउनु भयाे । ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा एमाले प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको उहाँले जानकारी गराउनु भयाे   ।

यस्तै  नेकपा माओवादी केन्द्रले पनि कर्णाली सरकार सुरक्षित रहेको दाबी गरेको छ। माओवादी केन्द्रका संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले सरकार ढल्ने सम्भावना नरहेको बताउनुभयाे । ‘सरकारको समर्थन लिने निर्णय आधिकारीक एमालेको निर्णय होइन्,यो निर्णयमा एमाले एकताबद्ध छैन,’ उहाँले भन्नुभयाे ‘राष्ट्रिय राजनीतिको समीकरणअनुसार प्रदेशमा पनि प्रभाव पर्ने भएकाले सरकार अहिले नै ढल्छ भन्ने केही छैन। ’

नेपालीले एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने सम्भावना नभएको बताउनुभयाे । सरकार अझै पनि बहुमतमा रहेको उहाँको दाबी छ। उनले एमालेका एउटा समूहका १० जनाले मात्र सरकार नबन्ने भन्दै प्रदेश सरकारले विश्वासको मत लिएर देखाउने दाबी गर्नुभयाे।

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन्।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार १६:२५