
सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाउनुभएकाे हाे ।
राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराउँदै मन्त्रीहरुले दलको बैठकमा नै आफ्ना अडानका विषयमा छलफल र बहस गर्ने जनाएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्मा बुझाएपछि हाल प्रदेशसभामा ३९ जना सांसद छन् । यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।
प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलवार १४:४७