
कभरखबर डेस्क ।
नेकपा एमालेका नेता प्काश ज्वालाले गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न फ्लोर क्रस गरेको स्पष्ट पार्नु भएको छ । नेता ज्वालाले एक अपील जारी गर्दै केन्द्र देखि स्थानीय स्तरसम्म समस्याहरु बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न फ्लोर क्रस गरेको बताउनु भयो ।
उनले पार्टीमा आवश्यक छलफल तथा सलह नभएको गुनासो गर्दै आवश्यक वातावरण बनाउन पनि मन्त्री पदबाट राजीनामा दिएको प्रष्ट पार्नुभयो ।उहाँले एक अपील सार्वजनिक गर्दै भन्नु भएको छ,कर्णाली प्रदेशसभामा सरकारले विश्वासको मत लिने क्रममा भएको मतदानको विषयलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ । पार्टीको एक जिम्मेवार कार्यकर्ता र सल्यान ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्यको हैसियतमा भ्रमपूर्ण प्रचारलाई चिर्न र वास्तविकता प्रष्ट पार्न मेरा सम्मानित मतदाता, आम जनसमुदाय र पार्टी पंक्तिमा यो अपिल जारी गरेको छु ।
कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले हालसम्म कुनै आधिकारिक निर्णय गरेको छैन । पार्टी केन्द्र र प्रदेशले कुनै औपचारिक निर्णय वा निर्देशन नदिदै केही ब्यक्तिको सत्ताभोक र कुन्ठाले सरकारलाई दिइएको समर्थन फिर्ता लिइयो र सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्देशन दिइयो । यो पार्टीको निर्णय, निर्देशन एवं बिधि पद्धति विपरित थियो ।
तरपनि पार्टीलाई एकतावद्ध बनाउने असल नियतका साथ सरकारमा सहभागी हामी तीन मन्त्रीले राजीनामा दिएको सर्वविदितै छ । मन्त्रीबाट राजीनामा दिएपछि कर्णालीमा एमालेलाई एकतावद्व बनाउन मैले हदैसम्म कोशिस गरे । तरपनि केही ब्यक्तिको दम्भले कर्णालीमा पार्टी एकताबद्ध हुन सकेन ।
संसदीय दलका नेता एवं पार्टी नेतृत्वबाट सरकार गठन र सञ्चालन एवं पार्टी सञ्चालनका बिषयमा हामी जिम्मेवार कमरेडहरुसँग कुनै समन्वय, परामर्श र छलफल भएन । संसदीय दल र पार्टीलाई कम्यूनिष्ट पद्धतिमा नभई गुटका रुपमा एकलौटी चलाउने काम भयो ।
उहाँले भन्नुभएको छ, ‘केहि अराजक व्यक्तिहरुबाट मलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउन दुष्प्रयास भएका छन् । तिनिहरुलाई मैले कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिन्ुछ । मेरो जीवन भरिको मेरो पार्टी प्रतिको निष्ठालाई भ्रमित गर्ने कोशिस गरिएको छ । मेरा विरुद्धमा फैलाइएका प्रचारहरुमा कुनै सत्यता छैन ।’
म नेकपा (एमाले) नर्वाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य र पोलिटव्यूरो सदस्य हुँ । पार्टी एकीकरणपछि कर्णाली प्रदेश कमिटीको सह–इन्चार्जको जिम्मेवारी दिइयो । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेको ब्यक्ति म स्वयंलाई समेत जानकारी नदिई प्रदेश कमिटीमा एकलौटीरुपमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनित गरियो ।
म लगायत जिम्मेवार कमरेडहरुलाई विना कारण जिम्मेवारी विहीन बनाइयो । पार्टीका नाममा गरिएका प्रदेश तथा जिल्लाका बैठक, भेला लगायतका कार्यक्रमहरुमा हामीलाई पूर्णरुपमा निषेध गरियो । पार्टीभित्रको गुटगत अत्याचारले सिमा नाघेपनि हामीमाथि भइरहेको अत्याचारमा शीर्ष नेतृत्वले कुनै सुनुवाई गरेन ।
पार्टी केन्द्रको निर्णयअनुसार बनेको प्रदेश सरकार गठनदेखि नै असहयोग र विरोध गरेर काम गर्न नदिने र सरकारलाई हटाउन हस्ताक्षर अभियानदेखि नीति, कार्यक्रम र बजेट पास हुन नदिन पटक पटक असफल प्रयास गरियो । पार्टी निर्णय विपरित यस्ता अराजक क्रियाकलाप गर्नेमाथी कहिले स्पष्टीकरण समेत सोधिएन । तसर्थ पार्टीको निर्णय र विधि विपरितको निर्णय मान्न हामी तयार भएनौं । पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारका पक्षमा हामीले मतदान गरेका हौं । यो कुनै फ्लोर क्रस होइन, पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय पनि होइन, यो राजनीतिक निर्णय हो ।
सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकरण पूर्व २०७५ जेठ ३ को अवस्थामा फर्केको सवैलाई जगजाहेर छ । अदालतको आदेशअनुसार पार्टीका सम्पूर्ण संगठन र संरचना जेठ ३ कै अवस्थामा पूर्नवहाली हुनुपर्ने हो । जेठ २ को हैसियतमा पार्टीको केन्द्रीय र स्थायी कमिटीका बैठक बसेर अगाडी बढ्नु पर्नेमा केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई सूचना नै नगरी सिमित ब्यक्तिको उपस्थितिमा २८ फागुनमा गुटगत बैठक बोलाइयो । त्यो गुटगत बैठकका निर्णयहरु देशव्यापी रुपमा एमालेका नेता, कार्यकर्तालाई स्वीकार्य छैन । समस्याको मुल जड यही हो ।
कर्णाली प्रदेशमा संसदीय दलको नेता २०७५ जेठ अगाडिकै कायम हुने तर पार्टी नेतृत्व फागुन २८ गतेको निर्णय अनुसार हुनुपर्ने दोहोरो मापदण्ड अपनाइयो । पार्टी भित्रका समस्या व्यबस्थापन गरेर पार्टी एकतालाई सुदृढ गर्न मन्त्री पद समेत त्यागेर हामी खुल्ला छलफलमा आएका थियौ तर केन्द्रदेखि स्थानीय स्तरसम्म समस्याहरु बढाउदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्नु स्वभाविक थियो । कर्णालीको कदमले पार्टीभित्र देखा परेका समस्या समाधान गर्न, पार्टीलाई विधि सम्मत सञ्चालन गर्न र एकताबद्व बनाउन ढिलो चाँडो मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।
मलाई कार्वाही गरिएको प्रचार पनि गरिएको छ । जतिबेला बिध्यार्थी कालमा कम्यूनिष्ट पार्टीको झण्डा बोकेँ, त्यतिबेला पञ्चायतले झुठा मुद्धा लगाएर जेल हाल्यो । बहुदल कालमा कांग्रेसले सांघातिक आक्रमणको कारवाही गर्याे तरपनि हातबाट एमालेको झण्डा र मनबाट माक्र्सवाद लेनिनवादको विचार झुकेन । माओवादी जनयुद्ध कालमा दर्जनौं कारवाहीका निर्णय सुनाइए तरपनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन । यतिबेला वास्तविकता छानविन नगरी गरिएका एकपक्षीय र पूर्वाग्रही कार्वाहीले मेरो राजनीतिक यात्रा र सामाजिक अभियानमा कुनै असर पर्नेवाला छैन ।
कुनै पदमा रहे वा नरहे पनि जस्तासुकै चुनौतिका विचमा पनि देश र जनताको पक्षमा निष्ठाको राजनीति गरिरहने सबैमा विश्वास दिलाउन चाहन्छु । अन्याय सहन र आत्मसमपर्ण गर्न कम्यूनिष्ट पार्टी रोजिएको होइन, सत्य र निष्ठाका लागि विद्रोह गर्न जतिबेला पनि तयार छु । म जनताको विश्वास टुट्न दिनेछैन । अहिले मलाई एकपक्षिय कारवाहीको ढंका पिट्नेहरु कम्यूनिष्ट आन्दोलन र संकटपूर्ण अबस्थामा एमालेको संगठन निर्माण गर्दा कहाँ थिए घामजतिकै छर्लङ्ग छ । फेरी पार्टीलाई संकट पर्दा को अगाडी आउँछ समयले नै फैसला गर्ला ।
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहदा मलाई विभिन्न किसिमले सहयोग पु¥याउने सम्पूर्ण कर्णालीवासी न्यायप्रेमी जनसमुदाय लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १०:४२