जनताको भावनाअनुसार एमसीसी पास वा फेल हुन्छः नेता नेपाल

करेश्मा गिरी,सल्यान,पुष ९ ।
नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

शुक्रवार बिहान समाजवादी प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने बताउनुभयो ।

एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघिबढाउनु पर्ने उहाँको भनाई छ ।

नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई आँच आउने र सैन्य रणनीति अनुरूप एमसीसी आएको भए कुनै पनि हालतमा पास नहुने उहाँको तर्क थियाे । उहाँले भन्नुभयाे, अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ छ भने हामी स्वीकाछौं,अन्यथा सैन्य रणनीति र नेपालको सार्वभौमिकतामाथि खलल पर्ने विषयमा कदापि स्वीकार्य हुँदैन्।

 अर्को एक प्रसङ्गमा नेता नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताउनुभयाे। दक्षिणपन्थी शक्तिको नेतृत्व एमाले अध्यक्ष केपि ओलीले गरी रहेको र ओलीको उक्त योजना कुनै पनि हालतमा सफल नहुने बताउनुभयाे। ओलीले एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन प्रयास गरे पनि त्यो सम्भव नभएको दाबी गर्नुभयाे ।

आउँदो निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै सरकार सञ्चालनका लागि पनि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने नेपालको भनाई छ । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिसँग गठबन्धन हुने तर दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग कुने पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गर्नुभयाे । 

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मिना बुढाथाेकीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन शिव डाँगीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति: ९ पुष २०७८, शुक्रबार १८:५९