गठबन्धनको प्रतिबद्धता– जनमैत्री सुशासनयुक्त पालिका निर्माण देखी वाह्य लगानीमैत्री वातावरण बनाउने

सल्यान, २० बैशाख ।

गाउँपालिकामा वाह्य लगानीमैत्री वातावरण बनाउने तथा जनमैत्री सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने लगाएतका बाचा सहित सल्यानको कपुरकोट गाउँपालिकामा बाम गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यो गाउँपालिकामा बाम गठबन्धनको तर्फबाट एकीकृत समाजवादी कपुकरोटका अध्यक्ष दुर्गा बहादुर पुन कलम चिन्हको साथ पालिका अध्यक्ष पदमा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्रको हसिया हथौँडा चुनाव चिन्हको साथमा प्रकाश भण्डारी चुनावी मैदानमा छन् ।

संयुक्त गठबन्धनले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपत् व्यवस्थापन, संस्कृति, पर्यटन, वन तथा वातावरण लगाएत कपुरकोट गाउँपालिकाको समग्र विकास गर्न प्रतिवद्धता सार्वजनिक गरेको हो ।

पालिकामा शव वहानको व्यवस्था गरि प्रचलनमा आएका शवदाह स्थलमा शवदाह गृह निर्माण गर्ने, स्थानिय विपत् व्यवस्थापन समितिलाई सक्षम वनाउने, दमकल संचालनका लागि योजना वनाउने तथा सांस्कृतिक केन्द्रको स्थापना गर्ने लगाएतका प्रतिबद्धता व्यक्त गरिएको छ ।

लंैगिक उत्तरदायी वजेट तथा कार्यक्रम निर्माण गरि विभिन्न खालका रोजगारमृ्लक कार्यक्रम संचालन गर्ने, एकिकृत किसान विकास कार्यक्रम सञ्चालन गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने, कपुरकोट क्षेत्रको धुलोलाई नियन्त्रण गर्नुका साथै सबै वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्दै पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ । यस्तै शैक्षिक सुधार, खेल क्षेत्रको विकास, शुद्ध पीउने पानीको प्रवन्ध, स्वास्थ्य र पोषण लगाएतका क्षेत्रको विकासका लागि पनि गठबन्धनले विभिन्न योजना तथा कार्यक्रमको खाका तयार पारेको छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलवार १९:५६