सल्यानमा मतगणना शुरु, प्रारम्भीक नतिजा आउन थाल्यो


सल्यान, ३१ बैशाख ।


स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सल्यानका स्थानीय तहहरुमा शनिबार विहानै देखि मतगणना कार्य शुरु भएको छ । शुक्रबार राती नै सबै स्थानीय तहमा मतपेटीका संकलन कार्य सकिएको थियो । विहान देखि जिल्लाको कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, सिद्धकुमाख, कुमाख, दार्मा गाउँपालिका र शारदा नगरपालिकामा मतगणना कार्य शुरु भएको सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । उनका अनुसार बागचौर र बनगाड कुपिण्डे नगरपालिकामा मतगणना शुरु भएको छैन । अव केहीबेरमा सर्बदलिय छलफल लगतै मतगणना शुरु हुने छ ।


शुक्रबार भएको मतदानमा जिल्लाभर ६९.०५ प्रतिशत मत खसेको थियो । जिल्लाका १५७७१५ मतदाता मध्ये १०८९०३ जनाले मतदान गरेका थिए । शान्तिपूर्ण वातावरणमा जिल्लामा मतदान सकिएको र पतपेटीका ढुवानीमा पनि कुनै समस्या नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यसैवीच कपुरकोट गाउँपालिकामा ११३ मत गणना पछिको परिणाम सार्वजनिक भएको छ । वडा नं १ बाट शुरु भएको गणनामा अध्यक्ष पदमा एमालेका भिम बहादुर सेनले ४०, माओवादी र समाजवादीको गठबन्धनबाट समाजवादीका दुर्गा बहादुर पुनले ४७ र कांग्रेसका विष्णु कुमार शर्माले १६ मत प्राप्त गरेका छन् ।


उपाध्यक्षमा एमालेका भिमा बुढाथोकीले ४१, माओवादी र समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भरारीले ४३ र कांग्रेसका ओकी महताराले १५ मत प्राप्त गरेकी छिन् । वडा अध्यक्षमा एमालेका तेज बहादुर रानाले ४५, माओवादी र समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका बालाराम खड्काले ४६ र कांग्रेसका हिरालाल घर्तीले १५ मत पाएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार ०७:३१