यी हुन् सल्यानका १० स्थानीय तह हाँक्ने प्रमुख र उपपप्रमुख


सल्यान, ५ जेठ ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सल्यानका १० वटै स्थानीय तहको अन्तीम नतिजा सार्वजनिक भएको छ । बागचौर नगरपालिकाको अन्तीम नतिजा विहिबार सार्वजनिक भएसंगै जिल्लाको मतगणना कार्य सकिएको छ ।

सार्वजनिक १० स्थानीय तहको मत परिणाम मध्ये नेपाली कांग्रेसले ५ प्रमुख, ३ उपप्रमुखमा जित दर्ता गराउन सफल भएको छ । नेकपा माओवादी केन्द्रले २ प्रमुख र ४ उपप्रमुखमा जित हाँसिल गरेको छ भने नेकपा एमालेले २ प्रमुख र ३ उपप्रमुखमा जित निकालेको छ । यस्तै एकिकृत समाजवादीले एउटा मात्रै स्थानीय तहमा विजयी भएको छ ।

१) शारदा नगरपालिका
शारदा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन । निकटतम प्रतिद्धन्द्धी मनोज प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय ९५ मत ल्याएका छन् । १५ वडा रहेको नगरपालिकामा वडा न १,२,३,५,६,८,११,१४ मा कांग्रेस विजयी भएको छ भने वडा न ४,१०,१२,१३, र १५ मा एमाले विजयी भएको छ । माओवादी केन्द्रले वडा न ७ र एकीकृत समाजवादीले वडा न ९ मा जित निकालेको छ ।
फोटो १ ः बाँयातीर प्रकाश भण्डारी, दायाँतिर सुस्मिता सापकोटा सुनार ।

२) बागचौर नगरपालिका
बागचौर नगरपालिकाको मयेरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको भएको छ । मेयरमा नेपाली कांग्रेसका जनक गौतम र उपमेयरमा नेकपा माओवादी केन्द्रकी सुम्निमा डिसी ओली निर्वाचित भएकी छन् । गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृति बहादुर पुनले ५ हजार ५ सय ९४ मत ल्याए । गौतमले पुनलाई ४३३ मतले पराजित गरेका हुन । यस्तै उपमेयरमा माओवादीकी सुम्निमा डिसी ओलीले ६ हजार ६ सय १४ मत ल्याएकी छन् । उनले नेपाली कांग्रेसकी दीपा बस्नेतलाई पराजित गर्दै जित हात परेकी हुन । कांग्रेसकी बस्नेतले ५ हजार २ सय ३४ मत ल्याएकी छन् । १२ वडा रहेको बागचौर नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ वडा जितेका छन् ।

३) बनगाड कुपिण्डे नगरपालिका
बनगाड कुपिण्डे नगरपालिकामा माओवादी, कांग्रेस र समाजवादीका साझा उम्मेदवार माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकी ७ हजार ४ सय ६६ मत ल्याएर मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् ।

४) त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले अध्यक्षमा ३ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी सिता खड्का पुन ३ हजार १ सय ८६ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र बहादुर थापाले २ हजार ३५ मत ल्याएका छन् । ६ वडा रहेको त्रिवेणी गाउँपालिकामा वडा न २ बाहेक सबै वडामा कांग्रेस निर्वाचित भएको छ । वडा न २ मा एमाले विजयी भएको छ ।

५) कुमाख गाउँपालिका
कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत प्राप्त गरेका छन भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत प्राप्त गरेका हुन् । त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत प्राप्त गरेका छन भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।

६) सिद्ध कुमाख गाउँपालिका
सिद्धकुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३ सय ७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन । गिरीले २ हजार १सय ७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धन एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १ हजार ७ सय ९८ मत ल्याएका छन् । उपाध्यक्षमा भने गठबन्धन माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १हजार ९ सय ६३ मत ल्याएकी छन् । ५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।

७) दार्मा गाउँपालिका
दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो । अध्यक्षमा माओवादीका निम बहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् ।

८) छत्रेश्वरी गाउँपालिका
माओवादी र समाजवादीको गठबन्धन तथा कांग्रेसलाई पराजित गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी भएको छ । अध्यक्षमा एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले तीन हजार ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्टले दुइ हजार ६ सय २३ मत ल्याए भने माओवादीका प्रेम खड्काले दुइ हजार ५सय ९ मत ल्यााएका छन् । जिल्ला समन्वय समितीबाट राजिनामा दिएर पालिका अध्यक्षमा विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोपूर्ण पालिकाको रुपमा हेरिएको थियो । उपाध्यक्षमा पनि एमालेकी बुद्धा केसी तीन हजार तीन सय ८२ मत ल्याएर विजय भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले तीन हजार ४६ र एकीकृत समाजवादीका राज बहादुर बुढाथोकीले एक हजार ९ सय ८८ मत ल्याएका छन् ।

९) कालिमाटी गाउँपालिका
सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । यो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फेरी अर्काे कार्यकालका लागि निर्वाचित भएका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी निर्वाचित भएका हुन । केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी निर्वाचित भएकी छन् । ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन । उनको प्रतिस्पर्धी एकीकृत समाजवादीका ज्ञान्द्र बहादुर खत्रीले २ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

१०) कपुरकोट गाउँपालिका
कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जीत हाँसिल गरेका छन् । ३१६० मतका साथ गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन गाउँपालिका अध्यक्षमा विजयी बनेका छन् भने माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष पदमा जित हाासिल गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेका भिम बहादुर सेनले अध्यक्ष पदमा २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन् । कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समिकरणबाट राप्रपाले जित हाँसिल गरेको छ ।
फोटो ९ ः बायाँतीर दुर्गा बहादुर पुन, दायाँतीर प्रकाश भण्डारी ।

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहीबार १७:१६