कभर खबर

  • ३० कार्तिक २०७९, बुधबार ०८:१४

मतदानस्थलहरु छैनन् अपाङ्गमैत्रीः अपाङ्गता भएकाहरूलाइ सास्ती र मताधिकारबाट वन्चित

मिना बुढथोकी

सल्यान,०७९ कात्तिक ३० गते
यही मङ्गसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सल्यानमा २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थल रहेका छन् । अधिकांश मतदानस्थलहरु अपांगमैत्री नहुँदा अपांगता भएका नागरिकहरुले सास्ती भोग्नुपर्ने देखिएको छ भने अतिपय मतदाताहरु मताधिकारबाट वन्चित हुनुपर्ने अवस्था छ । सल्यानमा मतदान केन्द्रहरु विद्यालय भवन, वडा कार्यालय तथा सामुदायिक भवनहरुमा राखिएको छ ।


पछिल्लो समयमा धेरै मतदान स्थलसम्म गाडी पुग्ने गरे पनि मतदानस्थल पूर्णरुपमा अपाङ्गमैत्री हुन नसकेको कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बुढाले बताउनुभयो । जिल्लामा अहिले अपाङ्गता भएकाहरूको संख्या ६ हजारभन्दा बढी रहेको त्यसमध्ये क र ख वर्गका २ हजारभन्दा बढी संख्या रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।


मतदानस्थल अपाङ्गमैत्री नहुँदा क र ख वर्गका अपाङ्गता भएका व्यक्तीले मतदान प्रकृयामा सहभागी हुँदा समस्या व्यहोर्नु परेको छ । गतिलो सडक नभएको र अन्य व्यवस्थापन पनि नभएकाले एक्लै जाने अवस्था नरहेकै कारण मतदानस्थल अपाङ्गमैत्री नभएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।


‘धेरै मतदानस्थलसम्म गाडी पुग्ने सडक छ । सडक गतिलो नहुँदा ह्विलचियरमा एक्लै जान सकिँदैन । ह्विलचियरकै भरमा मतदानस्थलमा प्रवेश गरेर मतदान गर्न सकिँदैन भने कसरी हुन्छ अपाङ्गमैत्री ?उहाँले प्रश्न गर्नूभयो। उहाँले मतदानस्थल अपाङ्गमैत्री बनाउन सम्बन्धित निकाय समक्ष आग्रह समेत गर्नुभयो । कतिपय स्थानमा उम्मेदवारहरु आफै र उनिहरुका प्रतिनिधिहरुले गाडिको व्यवस्था गरि लैजाने गरेको भएपनि त्यस्तो अवस्थामा मतदाताले स्वतन्त्र र भयरहित तरिकाले मतादान गर्ने सम्भावना कम हुने उहाँले बताउनुभयो ।


जिल्लाका अधिकांश मतदानस्थल भएका क्षेत्रसम्म गाडी पुग्ने भए पनि भौगोलिक विकटताका साथै सडक गतिलो नहुँदा अपाङ्गता भएका पुरुष तथा महिलाहरूलाई अहिले पनि मतदानस्थलसम्म पुग्न कठिनाइ हुने गरेको शारदा नगरपालिका–७ निवासी ४१ वर्षीय खेमराज खड्काले बताउनुभयो ।


आफु ह्विलचियरको सहारा लिएर बस्दै आएको बताउँदै उहाँले एक्लै तथा ह्विलचियरमै जान नसक्ने हुँदा सहज रुपमा मतदान गर्नबाट वञ्चित हुँदै आएको बताउनुभयो । कतिपयले मतदान गर्नका लागी मतदानस्थल सम्म पुग्न सास्ती भोग्नुपरेको समेत उहाँले बताउनुभयो । निर्वाचन कार्यालयले जहिले पनि सहजताका लागि छनोट गर्दैै आएका विद्यालय भवन, फिल्ड आधुनिकभन्दा अपाङ्गमैत्रीलाई ख्याल नगरी परम्परागत रुपमा निर्माण गरिएका बढी भएका, साँगुरा बाटा, मुख्यद्वारमा सिँढी निर्माण गरेकाले मतदानस्थल अपाङ्गमैत्री नभएको कल्याणकारी अपाङ्ग संघ सल्यानका उपाध्यक्ष रहेका नीमबहादुर नेपालीले बताउनुभयो ।


उहाँले आफ्नै घर नजिकैको एक विद्यालयमा मतदान केन्द्र रहेको र वैशाखी तथा ह्विलचियरको भरमा एक्लै आउजाउ गर्न नसकिने बताउनुभयो । ‘अपाङ्गताको क र ख वर्गमा पर्ने पुरुष तथा महिला यही समस्याकै कारण धेरै पहिलादेखि आफ्नो मताधिकारको प्रयोग गर्नबाट वञ्चित भएका छन् । मतदानका लागि उनीहरूले अर्काको सहयोग लिनुपरेको छ, उहाँले भन्नुभयो, ‘म पनि ख वर्गमा पर्छु । मलाई कतै आउजाउ गर्न बैसाखी चाहिन्छ । बैसाखी प्रयोग गर्दा मतदानस्थलसम्म पुग्न गाह्रो हुन्छ । मतदानस्थलमा पुगेपछि अव्यवस्थित रुपमा गरिएको तारबारले झनै अप्ठ्यारो हुन्छ ।


जिल्लाका र स्थानीय तहका अधिकांश कार्यालय पनि अपाङ्गमैत्री नभएकाले सरकारी सेवा लिनका लागि पनि धेरै कठिनाइ हुने गरेको उहाँको भनाइ छ । मतदान केन्द्र छनौटमा पनि अपांगमैत्री भन्दा पायक पर्ने स्थानका आधारमा छनौट हुने भएकाले यस विषयमा धेरै सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन नेपालीले भन्नुभयो ।


क वर्गको अपाङ्गता भएका शारदा नगरपालिका ७ कजेरी घर भएका वर्ष ५६ का तोकलाल खड्काले घरबाट यताउता हिँड्न नसक्नेमात्र नभई कालिका माविमा रहेको मतदानस्थल घरबाट आधा घण्टाको दूरीमा रहेको र गतिलो सडक नभएकाले मतदानबाट वञ्चित हुँदै आएको बताउनुभयो ।


मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले विगतमा निर्माण गरेका विद्यालयका संरचना काम चलाउका लागि भएकाले पूर्णरुपमा अपाङ्गमैत्री नभएको बताउनु भयो । विगतका तुलनामा अहिले २ सय २ मतदान केन्द्र तथा १ सय १९ मतदानस्थलमध्ये एकबाहेक सबै केन्द्र नजिकै गाडी पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । अपाङ्गता भएकालाई मतदान गर्नका लागि भने छुट्टै व्यवस्था गर्दै आएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार ०८:१४