कभर खबर

  • ११ फाल्गुन २०७९, बिहीबार १८:२३

कपुरकोटका सबै वडामा एमालेको ´ग्रास रुट अभियान` संचालन गर्नका लागि कार्यविभाजन

सल्यान, ११ फागुन ।

पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पुर्‍याउने उदेश्य अनुरुप नेकपा एमाले कपुरकोट गाउँपालिकाले सबै वडामा मिसन ग्रास रुट अभियान संचालन गर्ने भएको छ । कपुरकोट गाउँपालिकामा खटिएका केन्द्रीय प्रतिनिधि राम प्रसाद बरालको प्रमुख आतिथ्यतामा विहिबार कपुरकोटमा सम्पन्न एमाले पालिका कमिटिको बैठकले सबै वडामा अभियान सम्पन्न गर्नका लागि कार्यविभाजन गरेको हो ।

केन्द्रीय प्रतिनिधि सहित जिल्ला कमिटी तथा पालिका कमिटिका पदाधिकारी, सदस्य तथा विभिन्न जनवर्गीय संगठनका जिम्मेवार सदस्यहरु सहित वडा स्तरमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान संचालन हुने एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारी दिए ।

कपुरकोट गाउँपालिकामा शुक्रबार(फागुन१२ गते) देखि यहि फागुन २० गते सम्म ६ वटै वडामा मिसन ग्रास रुट अभियान संचालन हुने एमाले सल्यानका जिल्ला कमिटी सदस्य रुपक बुढाले जानकारी दिए ।

एमाले कपुरकोटले वडा नम्बर १ मा १८ गते, २ मा २० गते, ३ मा १६ र १७ गते अभियान अन्तरगत पार्टी सुदृढीकरण तथा विस्तार कार्यक्रम संचाल गर्ने भएको छ । यस्तै वडा नम्बर ४ मा १२ र १९ गते, ५ मा १५ गते र ६ मा १३ गते कार्यक्रम गर्ने एमाले कपुरकोटको निर्णय छ ।

अभियानको क्रममा पार्टी सदस्यता नविकरणको काम पनि सम्बन्धित वडा कमिटिको सहयोगमा गरिने जिल्ला कमिटी सदस्य बुढाले जानकारी दिए ।

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार १८:२३