३ नम्बर प्रदेशको नाम बागमति र राजधानी हेटौँडा राख्ने प्रस्ताव पारित

मकवानपुर – प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने प्रस्ताव पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय सर्वसम्मतले पारित गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको बताए । प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबारको बैठकमा एक सय आठ जना मात्रै उपस्थित थिए ।

बैठकले राजधानी हेटौंडा राख्ने निर्णय पनि गरेको छ । हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको थियो । प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबार एक सय आठ सांसद उपस्थित थिए । धुलिखेल राजधानी राख्ने विवेकशीलको प्रस्ताव अस्वीकृत भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो ।।

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १३:०७