
काठमाडौं २७, पुष। सभामुख चयनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विभाजित बनेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवेश गरेकी छन् । अध्यक्षद्धयले एक–एक जना पात्र अगाडि सारिरहेको बेला सभामुख छनौट प्रकृयामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशसंगै त्रिपक्षीय शक्ति संघर्ष चर्किएको छ ।
तत्कालिन सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कारकाे अभियोगमा जेल परेपछि रिक्त प्रतिनिधि सभाको सभामुख पदमा नेकपाका दुई अध्यक्ष ओली र दाहालले फरक–फरक पात्रलाई उम्मेदवार बनाउन निकै कसरत गरिरहेका छन् ।
ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले नेता अग्नी सापकोटालाई सभामुख बनाउन रस्साकस्सी गरिरहेको बेला संवैधानिक राष्ट्रपतिको भूमिकामा रहेकी विद्यादेवी भण्डारीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई अगाडि सारेपछि नेकपामा सभामुख चयन सोचे भन्दा निकै पेचिलो विषय बनेको छ ।
सभामुख चयन प्रकृयामा आफ्नो तर्फबाट पात्र अगाडि सारेर संवैधानिक राष्ट्रपति भण्डारी आलोचित बनेकी छिन् । अर्का पूर्व सभामुख रामचन्द्र पौडेलले पनि तत्काल सभामुख चयन गर्न आग्रह गरेका छन् । उनले सार्वभौम संसदलाई नेकपाले खेल मैदान बनाएको टिप्पणी गरेका छन् ।
पूर्व सभामुखहरुले नेकपाले तत्काल सभामुख को बनाउने भनेर निर्णय दिन सक्नु पर्दछ र तटस्थ पात्रलाई सभामुख बनाएर संसद संचालन गर्नु पर्दछ भनिरहेका छन् ।
विश्लेषकहरुले संसद विधि निर्माणको थलो भएको र कुनै अमुक दलका नेताहरुको स्वार्थ पूर्ति गर्ने थलो नभएको भन्दै नेकपाका दुई अध्यक्ष र राष्ट्रपतिले आफ्नो खल्तीका मानिसलाई सभामुख बनाउने खेल तत्काल बन्द गर्न सुझाव दिएका छन् ।
प्रकाशित मिति: २७ पुष २०७६, आईतवार २१:४९