तीन जिल्लाका सुरक्षा समितीको बैठक कपुरकोटमा सम्पन्न

सल्यान – सल्यानको कपुरकोटमा अन्तर जिल्ला सुरक्षा समितीको बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकमा सल्यान, दाङ र बाँके जिल्लाका सुरक्षा समितीका पदाधिकारीहरु सहभागी थिए । शान्ती सुरक्षालाई प्रभावकारी बनाउन एक अर्काे जिल्ला विच कसरि समन्वय र सुचना आदान प्रदान गर्न सकिन्छ भन्ने बारेमा बैठकमा छलफल भएको सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारि दिए । उनले कभरखबर डटकम संग भने, ‘लागु औषध नियन्त्रण, अबैध हातहतियार बरामद तथा प्रतिवन्धीत विप्लव समूहका गतिविधि नियन्त्रणका बारेमा छलफल भयो ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगाएत तीनवटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता थियो । चारवटै सुरक्षा अंगका प्रमुखले आआफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए । एक अर्काे जिल्ला विच आवश्यक समन्वय गरेर कुनै पनि अबैध र कानुन विपरितका गतीविधिहरु सञ्चालन गर्न नदिने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने निर्णय समितीले गरेको बताईएको छ ।


यसैविच कपुरकोट गाउँपालिकाले बैठकमा भाग लिन आएका सुरक्षा समितीका पदाधिकारीहरुलाई स्वागत गरेको थियो । गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले स्वागत गर्दै शान्ति सुरक्षा मजबुत बनाउन स्थानीय सरकारसंग पनि आवश्यक समन्वय गर्न आग्रह गरेका थिए । उनले भ्रमण वर्ष २०२० को सन्दर्भमा कर्णालीको प्रवेशद्धार तथा वेमौषमी तरकारिले ख्याती कमाएको कपुरकोटमा पर्यटन प्रवद्र्धनमा टोवा पुर्याउन समेत आग्रह गरेका थिए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नं ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले पनि स्वागत गरेका थिए ।

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार १४:२१