
काठमाडाैं ।बुधबार माघे संक्रान्तिको अवसर पारेर आयोजित थारू समुदायको कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताएका छन्।
काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले त्यसो भन्नु न्यायपूर्ण नहुने तर्क गरे। उनले भने –‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। यो सत्य होईन । म तथ्यांक सच्याउन चाहन्छु। हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भने, म पाँच हजारको मात्रै जिम्मा लिन्छु । यतिमात्र होईन सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा पनि म नै लिन्छु ।
कार्यक्रममा बोल्दै प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गराउने आश्वासनसमेत दिए । आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताएका प्रचण्डले भने, ‘रेशमलाई छुटाइन्छ हेर्नुहोला।’
प्रचण्डले संविधान संशोधन गर्न सकिने बताउदै ‘संविधान बनाउने बेला पार्टीको तर्फबाट अध्यक्षको हैसियतले यति संविधानले पुग्दैन। आदिवासी जनजाति, मुस्लिम, थारू, दलित र महिलाका निम्ती थप अधिकार छ भनेर संविधानमा रिजरभेसन राख्ने नेतृत्व मैले गरेको हो ।’
थारू समुदायले उठाएका मागबारे नेतृत्व तहमा बस्नेमध्ये आफूले धेरै बुझेको प्रचण्डको दाबी छ।
प्रकाशित मिति: १ माघ २०७६, बुधबार १८:१३